उर्लाबारी – नेकपा एमाले मोरङले कार्तिक २९ गते आयोजना गर्न लागेको जिल्लाव्यापी मोटरसाइकल र्यालीलाई अहिलेसम्मकै विशाल प्रदर्शनका रुपमा आयोजना गरिने जनाइएको छ ।
बिहिबार युवा संघ मोरङले उर्लाबारीमा कार्यकर्ता भेटघाट गरी मोटरसाइकल र्यालीको पुर्व तयारीबारे जानकारी गराएको छ ।
युवासंघ मोरङका अध्यक्ष प्रवीण घिमिरेले पुर्वी मोरङको मिक्लाजुङ, उर्लाबारी र रतुवामाईबाट बढीभन्दा बढी कार्यकर्ता सहभागी हुन अपिल गरे ।

मिक्लाजुङबाट सुरु हुने उक्त र्याली उर्लाबारी हुँदै पथरी, लेटाङ र बेलबारी पार गर्दै विराटचोक आइपुग्नेछ । त्यस्तै, रतुवामाईबाट सुरु भएको अर्को र्याली सडक मार्ग हुँदै विराटनगरतर्फ प्रस्थान गर्नेछ। दुवै टिम विराटनगरको तीनपैनीमा एकीकृत भएर बजार परिक्रमा गर्ने र अन्त्यमा विराटनगरको महेन्द्रचोकमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।
विराटनगर महानगरको टोली भने पुष्पलालचोकबाट प्रस्थान गरी र्यालीमा मिसिने बताइएको छ । २९ गतेको मोटरसाइकल र्याली यसअघि जिल्लामा कहिल्यै आयोजना नभएको संख्यामा उल्लेख्य हुने घिमिरेले दाबी गरे ।
सो र्याली तयारीका क्रममा युवा संघले उर्लाबारीमा संघका पुर्वी मोरङ पालिकाका अध्यक्षहरुसंग समन्वय बैठक गरेको छ । सहभागी युवा अगुवाहरूले र्यालीलाई भव्य र अनुशासित बनाउनका लागि उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा बोल्दै संघका जिल्ला अध्यक्ष प्रवीण घिमिरेले कुनैपनि व्यवस्था, विधि, प्रक्रिया, जनमतको आधारमा मात्र परिवर्तन हुने भएकाले प्रतिगमन र अराजक गतिविधिको विरोधमा कार्यक्रम तय गरिएको बताए । गुण्डागर्दीको भरमा, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड लुटपाट तथा हत्या हिंसाको भरमा एमालेलाई कमजोर पार्ने दिवास्वप्न नदेख्न उनले विरोधीहरुलाई चेतावनी दिएका छन् ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भिष्मा रेग्मी, उर्लाबारी नगर कमिटी उपाध्यक्ष सुरेश शाक्य, सचिव चेतन सिग्देल, युवा संघका केन्द्रिय सदस्य सुवास न्यौपाने, युथ फोर्स मोरङ इञ्चार्ज किशन चाम्लिङ राई, संघका जिल्ला प्रवक्ता मनोज दाहाल, सहसचिव इन्द्र श्रेष्ठ, रिटर्नी फेडेरेशन मोरङ अध्यक्ष इन्द्र दाहाल, युवा संघ मिक्लाजुङका अध्यक्ष सन्तोष खम्बुसहित विभिन्न तहमा रहेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
युवासंघ उर्लाबारी अध्यक्ष नितम चौहानको अध्यक्षतामा उब्त कार्यक्रम सम्पन्न भएको थियो ।




