उर्लाबारी, ३९ वर्षीय सोमप्रसाद आचायलार्ई विहान सबेरैदेखि राति अबेरसम्म फुर्सद भन्ने हुँदैन । गाईवस्तु, बाख्रा स्याहार्दै र खेतमा कुटो कोदाली गर्दागर्दै कतिबेला दिन बित्छ, उनलाई पत्तो हुँदैन । व्यावसायिक केरा खेती, तरकारी खेती, बाख्रा, लोकल हाँस र कुखुरा पालनमा उनी संलग्न रहँदै आएका छन् । परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उनले अगाडि बढाउँदै आएका छन् ।
व्यावसायिक कृषि कार्यका लागि उनले उर्लाबारी–५ सिसौलीमा स्वस्तिका कुषि फार्म सञ्चालन गरेका छन् । ५ कट्ठा जग्गामा व्यावसायिक केराखेती, डेढ बिगाहा जग्गामा तरकारी बाली लगाएका छन् । तरकारी र केराखेतीका लागि उनले जग्गा लिजमा लिएका हुन् । यसबाहेक आफ्नै जग्गामा गोठ बनाएर उन्नत जातका सातवटा गाई पालेका छन् । खोरमा २० वटा बोका बाख्रा छन् । हाँस–कुखुरा गरी ५० को संख्यामा रहेका छन् ।
केराखेती र सब्जीका लागि बीउ–बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा आचार्य कामदारसंगै खट्छन् । उनले निश्चित पारिश्रमिक दिएर तीनजना कामदारपनि राखेका छन् । गाईवस्तु र बाख्राका लागि उनले १० कट्ठा जग्गामा सुपर नेपियर घाँस र किम्बु लगाएका छन् ।
उनको मुलघर खोटाङको दिक्तेल हो । उतै हुँदा बैदेशिक रोजगारको शिलशिलामा दुबई पुगेका थिए, सोमप्रसाद । दुबईमा उनले बगैंचा गोडमेल गर्नेदेखि खजुर खेती स्याहार्नेसम्मका काम गरेको सुनाए । ‘किसानको छोरो हुँ, बोटबिरुवा रोप्ने, गोड्मेल गर्ने, हुर्काउने गरेकै थिए’ सोमप्रसादले भने – आधुनिक कुषिकर्म भने भोगेको थिइन्, बाली लगाउनेदेखि उत्पादन गर्नेसम्मका तौरतरिका दुबईबाटै सिक्न पाए । दुबईबाट घर फर्केपछि, उनले परिवारसहित बसाइँ सर्ने निर्णय लिए । उनी सानैदेखि कृषि कर्ममा विश्वास गर्थे । तराई झरेर खेती किसानीमै रम्ने निधो गरेका उनले उर्लाबारी – ५ मा घर निर्माण गरे । अनि सर सापट खोजेर कृषिकर्ममा अजमाउन पुगे । परम्परागतरुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको उल्लेख गर्दै सोमप्रसादले भने, ‘परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन उनी अग्रसर भएको छु ।’ उनी २०७२ सालदेखि उर्लाबारीका बासिन्दा भएका छन् ।
सुरुमा ब्रोइलर कुखुरा र च्याउ खेतीमा लगानी गररेको सोमप्रसादले बताए । नयाँ ठाउँ तिमाथि प्राविधिक ज्ञान नहुँदा आफुले पाउनुसम्म दुःख पाएको उनले विगत स्मरण गरे । ‘ब्रोइलर भकाभक मरे, च्याउ खेतीबाट पनि आयआर्जन हुन सकेन’ उनले सुनाए । ब्रोइलरबाट १० लाख र च्याउ खेतीबाट डेढ लाख हान्ति भएको सोमप्रसादको भनाई छ । यति हुँदापनि उनले हरेश खाएनन् । केही आफ्नो र केही साथीभाईसंग सरसापट गरेर उनले कुषि कर्मलाई अघि बढाएको बताए । अहिले उनको खोरमा २० वटा बाख्रा छन्, सातवटा दूधालु गाई छन् । आधुनिक तरिकाले बाख्राको खोर र गाईको गोठ बनाएका छन् । कुखुरा र हाँस पालनका लागि बेग्लै संरचना तयार पारेका छन् । बेमौसमी तरकारी र मालबोक केरा उत्पादन उनको प्राथमिकतामा छ । ‘भर्खर रोपिएकोले केरा खेतीले परिणाम दिइसकेको छैन’ सोमप्रसादले भने, तर तरकारीबाट राम्रै आम्दानी गरिरहेको छु । उनले तरकारी र दूध उत्पादनबाट मात्रै सबै खर्च कटाएर मासिक ६० हजार हात पार्ने गरेको सुनाए । दैनिक ५० लिटर दूध बिक्री गर्ने गरेका छन् । उनका फर्मका खसी बाख्रा र हाँस कुखुरा बेच्न लायक नभएपनि अन्यत्रबाट खसी खरिद गर्ने गरेको सोमप्रसाद बताउछन् । भन्छन्– ‘साप्ताहिक रुपमा मासुपनि बेच्ने गरेकोले खसी खरिद गर्ने गरेको छु ।’ धेरै प्रकारका तरकारी खेती गर्ने कृषक सोमप्रसादले कुनैपनि उत्पादनको बिक्रीवितरणमा समस्या नभएको भन्दै प्रसन्नता व्यक्त गरे । सतप्रतिशत अग्र्यानिक उत्पादन गर्न नसकिने बताउदै सोमप्रसादले भने –सकेसम्म अग्र्यानिक तरकारी उत्पादन गर्ने मेरो लक्ष्य हो । उनका अनुसार बीउबिजन, बिषादी र मलका कारण कतै न कतै अग्र्यानिक उत्पादनमा समस्या हुने उनको कथन छ । मेहनत गर्यो भने तरकारी खेतीबाटै अहिले वार्षिक रु पाँच लाख आम्दानी गर्न सकिने सोमप्रसादको तर्क छ । तरकारी खेतीमा उनको परिवारको उत्तिकै साथ छ । उनका श्रीमती र चार सन्तान छन् । जेठी छोरीको विवाह भैसेकेको छ । तीनजनाले पढाईसंगै आफुलाई सघाउने गरेको सोमप्रसादले बताए ।
परिवारको अवस्था एकदमै कमजोर हुँदा गाउँका सबैले हेप्थे । अहिले कृषि फार्मका कारण समाजमा आफ्नो ठूलो इज्जत बढेको बताए । सोमप्रसादले भने – ‘कृषिले मलाई नमुना कृषकका रुपमा परिचित गरायो ।’कृषिकर्मकै आम्दानीबाट उनले डेढ कट्ठा घडेरी जोड्न सकेको बताए ।
आफ्नो फर्ममा उत्पादन भएको तरकारीआर्गानिक भएकाले बजारमा माग धेरै रहेको किसान आचार्यले बताए। आम्दानी गर्ने स्रोत धेरै भए पनि खास गरी युवाले गर्नै नमान्ने कृषि पेशालाई व्यावसायिकरुपमा अपनाएको उनी बताउँछन् । ‘युवाले कृषि कार्य गरे समाजमा असल सन्देश जान्छ’, उनले भने, ‘त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु । यसमै खुसी छु ।’ सोमप्रसादलाई श्रीमतीले कृषि कार्यमा साथ दिँदै आएकी छन् । उनी भन्छन्, ‘कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ । राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिकोसमेत प्रतिनिधित्व भए सबल कृषि नीति निर्माण भई कृषिबाटै सवल अर्थतन्त्र निर्माण गर्न सकिन्छ । युवालाई कृषि कार्यमा सहजरुपमा लाग्नका लागि वातावरण कायम गरिनुपर्छ । त्यसपछि मात्रै देशले विकासमा फड्को मार्न सक्छ ।’ स्वदेशमा व्यावसायिक रुपमा कृषिमा लाग्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । राज्यबाट आएको सुविधा तथा प्रोत्साहन भने वास्तविक किसानसम्म पुग्न नसकेको उनले बताए । उनले कृषिमा हालसम्म रु २० लाखभन्दा बढी लगानी गरिसकेको बताए ।