उर्लाबारी, लक्षित वर्गका लागि हुनुपर्ने सिपमुलक तालिममा नातागोता र नजिकका मान्छेलाई सहभागी गराइएको खुल्न आएको छ । स्थानीय एमाले नेताले आफ्नी श्रीमती र भाउजुलाई प्रशिक्षक तथा छिमेकी महिलाहरुलाई प्रशिक्षार्थी बनाएर उर्लाबारी नगरपालिकाको सहयोग रहेको एउटा तालिम सम्पन्न गरेका छन् ।
उर्लाबारी – ७ मा अर्गानिक नुहाउने साबुन बनाउने तालिम आयोजना गरिएको थियो । नगरपालिकाको सहयोगमा एच नेपालय फाउण्डेशनद्वारा उर्लाबारी – ७ मा पाँच दिनसम्म सञ्चालित तालिममा पुर्व वडा सदस्यसमेत रहेका वार्डका एमाले नेता निरोज तिम्सिनाकी श्रीमती पुष्पा तिम्सिना र भाउजु शोभा तिम्सिना प्रशिक्षक रहेका थिए ।
यस्तै, तिम्सिनाले छरछिमेकका बीस जना महिलाहरु जुटाएर तालिममा सहभागी गराएका थिए । महिलाहरुले अर्गानिक नुहाउने साबुन बनाउने सिप सिकेपनि यस्ता तालिममा विगतदेखि नै पहुँचवालाकै हालीमुहाली रहने गरेको सर्वत्र गुनासो छ । ‘के वार्ड नम्बर ७ चाहिँ बरगाछी र चिउरामिल मात्रै हो ?’ एक स्थानीयबासीले प्रतिप्रशन गरे । उनले भने – ‘हेर्दा सानोजस्तो लागेपनि कुरा गम्भीर छ । पहिलाका जनप्रतिनिधिले बेथिति निम्त्याए भनेर नयाँ ल्याइयो तर यिनकापनि ताल उस्तै छ ।’
‘विगत ५ वर्षयता नगरपालिकाको सहयोग रहेको कुनैपनि तालिममा न त लक्षित वर्ग अटाएका छन् न तालिमहरु परिणाममुखी नै भएका छन्’ उर्लाबारी नगरपालिकाका एक कर्मचारीले भने – ‘अहिलेसम्म तालिम लिएकाहरूको नतिजा सन्तोषजनक छैन । अहिले त तालिमको लागि सूचना निकाल्ने बित्तिकै भत्ताकै लालचले ओइरो लाग्छ । हामीले सिप सिकाउने व्यवस्था गर्ने हो तर सिप सिक्न आउनेहरू अधिकांशको धारणा नै बेग्लै हुन्छ,’ उनले भने ।
सहभागी छनोट गर्दा पहुँचवाला र नजिकका मान्छे हावी भएर तालिममा सहभागी गराउनैपर्ने मान्छेहरु छुट्ने गरेका उनको ठहर छ । सोमबार भएको तालिम समापन कार्यक्रममा उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले सहभागीहरु लाई प्रमाणपत्र वितरण गरेका थिए ।