जेन्जी आन्दोलन : यथास्थितिवाद र परिवर्तनबीचको क्रान्तिको यात्रामा – प्रशान्त भण्डारी, युवा नेता तथा पूर्व जनमुक्ति सेनाका कमान्डर नेपालको राजनीतिक धरातल फेरि एकपटक हलचलमा छ। जेन्जी आन्दोलनले देशभर नयाँ चेतना र विवाद दुबै ल्याएको छ। कतिपयका नजरमा यो केवल युवाहरूको असन्तुष्टिको विस्फोट हो भने, प्रशान्त भण्डारी जस्ता परिवर्तनप्रेमी नेताहरूका दृष्टिमा भने यो आन्दोलन यथास्थितिवाद र परिवर्तनबीचको ऐतिहासिक संघर्ष हो। भण्डारी भन्छन् — “जेन्जी आन्दोलन कुनै प्रतिक्रियात्मक विद्रोह होइन, यो यथास्थितिवादी, भ्रष्ट र माफियातन्त्रविरुद्धको जन–क्रान्ति हो। यो पुस्ताले देखाएको अस्वीकारको स्वर हो, जसले पुरानो राजनीतिक ढाँचाको सीमालाई तोड्दै नयाँ मार्ग खोजिरहेको छ।” देशको अस्वस्थ अवस्था र बेचैनी देश अहिले आर्थिक, सामाजिक र राजनीतिक रूपमा अस्वस्थ अवस्थामा छ। भण्डारीका अनुसार “देश बिरामी छ, र हरेक सचेत नेपालीझैँ म पनि बेचैन छु।” उनले जेन्जी आन्दोलनलाई त्यसै बेचैनीको परिणामका रूपमा हेर्छन् — एक पुस्ताको सामूहिक असन्तोष, जसले ‘अब यसरी चल्दैन’ भन्ने सन्देश दिएको छ। आन्दोलन र हिंसा : कारण र परिणाम हालका घटनाहरू — पार्टी कार्यालय, नेताहरूका घर, सरकारी संरचना जल्ने दृश्य — आलोचना र समर्थन दुबैको केन्द्रमा छन्। तर भण्डारी भन्छन्, “क्रान्तिको समयमा यस्ता घटना स्वाभाविक हुन्, अस्वाभाविक त राज्यको सुरक्षातन्त्रको मौनता हो।” उनका अनुसार, “दुवै पक्षका अपराधीलाई कारबाही नगर्ने सरकार आफैं कुनै अदृश्य इसारामा चलेको प्रमाण हो। जेन्जी आन्दोलनका माग सम्बोधन नभएसम्म स्थायित्व आउँदैन।” माफियातन्त्रविरुद्ध डिजिटल पुस्ताको आवाज भण्डारीले जेन्जी आन्दोलनलाई डिजिटल युगको क्रान्तिका रूपमा परिभाषित गर्छन्। “यो पुस्ता अब ढोका ठटाउँदैन, सिधा प्रणाली नै प्रश्न गर्छ। उनीहरू भ्रष्टाचार, दलाल–संस्कृति र माफियाराजविरुद्ध जागेका छन्,” उनी भन्छन्। तर उनलाई चिन्ता छ — “आन्दोलनको ब्यानर युवाहरूको थियो, तर चलखेल अरूले गरे।” उनले चेतावनी दिएका छन्, “घुसपैठका धेरै संकेतहरू छन्, र यो आन्दोलनलाई गलत बाटोमा मोड्ने प्रयास भइरहेको छ।” ‘राजा फर्किन्छन्’ भन्ने हल्ला र यथार्थ देशमा पुनः राजसंस्थाको चर्चा चुलिएको बेला भण्डारी स्पष्ट छन् — “राजा फर्कने सम्भावना छैन। न जेन्जीहरूको माग त्यो हो, न जनताको।” उनका अनुसार, “केवल दुई–चार सामन्तहरू जसले कहिले देशलाई दास बनाएका थिए, उनीहरू आफ्ना स्वार्थका लागि सपना देखिरहेका छन्। तर अब घाम राति खोजेजस्तै त्यो सम्भव छैन।” माओवादी र जेन्जी आन्दोलन : एउटै धागोमा सर्वसाधारणमा माओवादी पनि अन्य दलजस्तै भएको आलोचना बीच भण्डारी त्यससँग असहमत छन्। उनी भन्छन् — “माओवादी पार्टीले नै सबैभन्दा पहिला ‘सुसासन क्रान्ति’ सुरु गरेको थियो। भ्रष्टाचार, मानव बेचबिखन र भूमाफियाविरुद्ध आज जेलमा रहेका ठूला नामहरू त्यसकै परिणाम हुन्।” उनका अनुसार, “जेन्जी आन्दोलन र माओवादी पार्टीका एजेन्डा मूलतः एउटै छन् — कार्यकारी प्रणालीमा रुपान्तरण र प्रत्यक्ष जननिर्वाचनको व्यवस्था।” निष्कर्ष : क्रान्तिको अर्को चरण भण्डारीको अन्तिम सन्देश स्पष्ट छ — “यो पुस्ताको विद्रोह राजा फर्काउन होइन, प्रणाली बदल्न हो।” उनका शब्दमा, “हामीले अहिले पनि समयमै निर्णय गर्न सकेनौं भने देश फेरि यथास्थितिमा फस्छ। निकास कार्यकारी प्रणालीमा छ, जसले जनतालाई सिधै शासनमा सहभागी बनाउँछ।” उनले जोड दिएका छन् — “अब माओवादीले पुनः नेतृत्व लिनुपर्छ, किनकि परिवर्तन र स्थायित्व दुबैको बाटो त्यहीँबाट सम्भव छ।


