उर्लाबारी, पक्की ड्रेन (नाला) निर्माण भएपनि ढकन नहाल्दा उर्लाबारी – ६ सुदर्शन टोल (बाँधडाँडा)का बालबालिका जोखिममा परेका छन् ।
बस्ति डुबान हुने भएपछि पानीको निकासका लागि भन्दै मावा खोला किनारमा बनाइएको ड्रेनले जोखिम बढाएको हो ।
‘ड्रेनमाथि ढकन नहुँदा जुनसुकै बेला दुर्घटना निम्तिने अवस्था छ’ स्थानीय दुर्गाबहादुर तामाङले भने –‘असावधानीले बालबच्चा ड्रेनमा पर्ने गरेका छन् ।
यसअघिपनि कतिपयको हातखुट्टा भाँचिएकोले तुरुन्तै ढकन लगाउनुपर्ने टड्कारो अवस्था छ ।
’ आ.व. ०७८–७९ मा ड्रेन निर्माणका लागि उर्लाबारी ६ नम्बर वडाबाट नौ लाख रकम विनियोजन भएपनि पक्कि ढकन राख्न बजेट अपुग भएको बताइएको छ ।
जसका कारण ढल निकासका लागि बनाइएको ड्रेन खुल्ला छाडिएको छ । संभावित जोखिम हटाउन माग गर्दै स्थानीयवासी समेत रहेका संचारकर्मी किशोर श्रेष्ठको
अगुवाइमा बुधबार उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख खरेलले मागपत्र बुझ्दै स्थलगत अध्ययन गरी समस्या
समाधान गर्ने आश्वासन दिएका थिए ।