
उर्लाबारी / मोरङको उर्लाबारीमा भोलदेखि हुने दोस्रो अन्तर कलेज रनिङ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार देखि हुने सो प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लब उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिनु भयो ।
नगर भित्रका ११ टीमले प्रतिस्पर्धा गर्ने भोलिहुने पहिलो खेल उर्लाबारी–६ को मोरङ मोडल र उर्लाबारी–३ को विद्या ज्योति इङ्लिस बोर्डिङ स्कुलबीच हुने खेल संयोजक बिशाल तामाङले जानकारी दिनु भयो । प्रतियोगिताको फाइनल खेल भने चैत्र २५ गते हुने छ ।
क्लबका अध्यक्ष दिपेन्द्र धिमालका अनुसार प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन ।
कलेज स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य अनुसार सो प्रतियोगिता गर्न लागिएको उहाँको भनाई छ । कलेज स्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी बन्ने मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीले बताउनुभयो । पालिका स्तरमै लिग प्रतियोगिता सञ्चालन गर्न सके थप खेलाडी उत्पादनमा टेवा पुग्ने उहाँको भनाई छ । भोलिदेखि संचालन हुने उक्त प्रतियोगितामा ६ लाख खर्च हुने अनुमान गरिएको छ ।