
फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा नेपाल आएकी छिन् । आफ्नो जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ को प्रदर्शनको अवसर पारेर दर्शकसँग भेटघाट गर्न नेपाल आएको उनले बताइन । ग्रिसमा व्यवसायिक फुटवल खेलिरहेकी कप्तान सुब्बा आज विहान १० बजे कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
चार दिनको नेपाल बसाइको लागि ग्रिसबाट नेपाल आएकी कप्तान सुब्बाले शुक्रवार नै उनी काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा दर्शक भेट्न पुग्ने निर्देशक मिलन चाम्सले बताए । शनिवार पनि काठमाडौँ रहने कप्तान सुब्बा आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन् । उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङका हलहरूमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको चाम्सले बताए ।
निर्माता प्रेमकुमार श्रेष्ठले कप्तान सुब्बाको यो भ्रमण विशुद्ध फिल्मको लागि रहेको बताए । हाल कप्तान सुब्बा ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
यस कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।