उर्लाबारी, १८औं विश्व अटिजम सचेतना दिवस २०८१ को अवसरमा उर्लाबारी-५ मा रहेको आकार फाउन्डेसनले अभिभावक सम्मान कार्यक्रम आयोजना गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै अटिजम भएका बालबालिकाका अभिभावकहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पन्चावती अस्पताल उर्लाबारीका निर्देशक बालचन्द्र सुब्बा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा डा. राकेश मेहता, संस्थाका सल्लाहकार हेमचन्द्र भट्टराई तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता आकार फाउन्डेसनकी निर्देशक प्रिशिमा थापाले गर्नुभएको थियो।

कार्यक्रमको दौरान संस्थाका शिक्षिकाहरूले “आकार” गीतमा आकर्षक नृत्य प्रस्तुत गरे। अभिभावक तर्फबाट गणेश सुवेदीले मन्तव्य राख्दै अटिजम भएका बालबालिकाको हकहितका लागि आकार फाउन्डेसनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे। प्रमुख अतिथि बालचन्द्र सुब्बाले अटिजम भएका बालबालिकाका अभिभावकहरूका लागि आकार फाउन्डेसन बरदान सावित भएको उल्लेख गर्नुभयो ।

विक्रम संवत् २०७७ मा स्थापना भएको आकार फाउन्डेसनले उर्लाबारी लगायतका क्षेत्रमा अटिजम भएका बालबालिकालाई विभिन्न सेवा प्रदान गर्दै आएको छ। हालसम्म १ हजार २ सय भन्दा बढी बालबालिकाले यस संस्थाबाट सेवा प्राप्त गरिसकेका छन् भने हाल ७५ जना अटिजम भएका बालबालिकाहरू थेरापी लिइरहेका छन्।

संस्थाकी निर्देशक तथा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक प्रिशिमा थापाका अनुसार हाल फाउन्डेसनमा २८ जना कर्मचारी कार्यरत रहेका छन्। साथै, संस्थाले दमक र बिर्तामोडमा सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिइन्।

कार्यक्रमले अटिजम सचेतनाका साथै अभिभावकहरूलाई प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय