
उर्लाबारी – आसन्न नेकपा एमाले उर्लाबारी नगर कमिटीको दोस्रो नगर अधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी तिव्र बनेको छ। विभिन्न पदमा आकांक्षीहरूको सक्रियता बढिरहेको सन्दर्भमा उर्लाबारी–४ का व्यवसायी शेरबहादुर भण्डारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।
उर्लाबारी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारी एमाले वृत्तमा एक शालीन, इमानदार र बौद्धिक व्यक्तित्वको रूपमा परिचित छन्। उनले वि.सं. २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए। वि.सं. २०५१ सालमा एमाले उर्लाबारीको सदस्य बनेपछि उनले संगठन निर्माणमा निरन्तर सक्रियता देखाउँदै आएका छन्।
“पार्टीमा लोकतान्त्रिक अभ्यास सुदृढ गर्दै जनवादी विचारको प्रवर्द्धन गर्ने र पार्टी विचारधारालाई समुदायसम्म पुर्याउने उद्देश्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,” भण्डारीले भने।
हाल पार्टीको औपचारिक नेतृत्वमा नरहे पनि उनले विभिन्न कार्यक्रम र गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। “यो पटक नेतृत्व तहमै रहेर काम गर्ने चाहना भएकोले उम्मेदवारी दिने निर्णय गरेको छु,” उनले भने, “म पार्टीका सबै सदस्य, प्रतिनिधि, अग्रज नेतागण र कार्यकर्ताबाट सकारात्मक साथ पाउने आशामा छु।”
भण्डारीले पार्टीको माथिल्लो तहमा देखिएको विचलन र कमजोरीलाई तल्लो तहबाट सच्याउँदै संगठन सुदृढ गर्ने अठोट समेत व्यक्त गरे। “पार्टी सुधारको प्रक्रिया स्थानीय तहबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी दिएको हुँ,” उनले बताए।