
उर्लाबारी । यही चैत २६ गते हुने नेकपा एमाले उर्लाबारी नगर कमिटीको निर्वाचन अत्यन्तै रोचक बन्दै गएको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव द्वय पदका लागि दर्जनौं उम्मेदवारहरूले आ-आफ्नो दाबी प्रस्तुत गरेसँगै निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा सिर्जना भएको छ।
अध्यक्ष पदका लागि उर्लाबारी-७ का मेघराज श्रीपाली, निरोज तिम्सिना, उर्लाबारी-१ का गोपाल रिमाल, उर्लाबारी-९ का सुरेन्द्र शेर्मा र उर्लाबारी-४ का यम न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। यसैगरी उपाध्यक्ष पदमा शेरबहादुर भण्डारी, सुरेश शाक्य, योगराज लाबुङ लिम्बु, खेमचन्द्र थापा र भरत मणि गौतमले दाबी गरेका छन्।
सचिव पदमा चेतन सिग्देल, इन्द्रबहादुर भट्टराई र सुनिल धिमालबीच प्रतिस्पर्धा हुने अवस्था छ। उपसचिव द्वय पदमा अमृता नेपाली, रुद्र लामिछाने, छविलाल दाहाल, नित्तम चौहान र कल्पना नाल्बो उम्मेदवार बनेका छन्। खुल्ला सदस्य पदमा उर्लाबारी-४ का सक्रिय युवा तथा व्यवसायी सुनिल बोहोराले उम्मेदवारी घोषणा गरेका छन्। त्यसैगरी लेखा समिति संयोजकमा उर्लाबारी ४ का दुर्गाराम कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।
निर्वाचन प्रमुख तथा प्रदेश कमिटी सदस्य भीष्मा रेग्मीका अनुसार हालसम्म उर्लाबारी नगर भित्र नवीकरण गरिएका १,०८० जना संगठित सदस्यहरूमध्येबाट २०४ जना प्रतिनिधिहरू चयन गरिएका छन्। यी प्रतिनिधिहरूले आगामी नेतृत्व चयन गर्नेछन्।
यस निर्वाचनलाई सर्वसम्मत बनाउन पार्टीको नेतृत्व पंक्ति लागि परेको नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले जानकारी दिएका छन् । यद्यपि अहिलेको माहोलले प्रतियोगिता चर्किएको संकेत दिएको छ। उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाउँदै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्। प्रतिनिधिहरू अनुभवी र काम गर्न सक्ने नेतृत्वको पक्षमा मतदान गर्नुपर्ने आवाज उठाइरहेका छन्।
नगर कमिटीमा जाने प्रतिनिधिहरूको छनोट वडागत भूगोल तथा क्लस्टर प्रतिनिधित्वका आधारमा भइरहेको छ। निर्वाचनको सम्पूर्ण कार्यक्रम चैत २६ गते सम्पन्न हुनेछ भने मतदान चैत २७ गते हुने निर्वाचन समितिले जनाएको छ।
यो निर्वाचनले उर्लाबारीका एमाले कार्यकर्ताहरूको विशेष ध्यान खिचेको छ। तर नेतृत्व कसको पोल्टामा पर्छ भन्ने विषय मतदानपछि मात्रै प्रष्टिनेछ। जे होस्, सबै उम्मेदवारहरू सशक्त नेतृत्वको दाबी गर्दै नगर पार्टीलाई नयाँ दिशामा डो-याउने प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन्।