उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ४, ५ र ६ धिमाल टोल समितिको आयोजनामा एकदिने चौथो धिमाल जात्री मेला आयोजना हुने भएको छ। आगामी बैशाख १३ गते सनिवार उर्लाबारी–५ सिसौलीस्थित अरुण टोलमा हुने उक्त मेलामा पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने धिमाल समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
प्रकृतिपूजक धिमाल जातिको महत्वपूर्ण पर्व ‘जात्री’ हरेक वर्ष बैशाख २ गतेदेखि असार २ गतेसम्म मनाइन्छ। पुर्वी मोरङको लेटाङ–१, भोगटेनीस्थित राजारानी महाराजस्थानलाई आफ्नो उद्गम स्थल मानेर सोही स्थानमा पूजाआजा गरेर जात्री पर्वको शुभारम्भ गर्ने परम्परा छ। त्यहाँबाट जात्री सुरु भएपछि धिमाल बस्तीहरूमा टोलटोलमा जात्रीको क्रम चल्ने गर्दछ।
उक्त जात्री पर्वमा रोगव्याधि नलागोस्, बाली राम्रो होस्, जङ्गली जनावरबाट सुरक्षा मिलोस् भन्ने कामनासहित हाँस, कुखुरा, सुँगुर आदिको बलि दिई सामूहिक पूजाआजा गरिन्छ। धिमाल समुदायको विश्वास अनुसार परापूर्वकालमा प्राकृतिक तथा वन्यजन्तुबाट आउने समस्याको समाधानका लागि सुरु गरिएको ग्रामथान पूजा, समयक्रममा जात्री पर्वका रूपमा परिणत भएको हो।
उर्लाबारी–६ का वडा सदस्य मान बहादुर धिमाले सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि सुख–शान्ति, आरोग्यता, र समृद्धिको कामना गर्दै यो पर्व ९८ वटा धिमाल टोलमा मनाइने जानकारी दिए।
मेलामा स्थानीय संस्कृति झल्काउने विविध कार्यक्रम तथा परम्परागत धिमाल नृत्य, गीतसंगीत र भव्य पूजाआजा आयोजना गरिनेछ। आयोजकले सबैलाई मेलामा सहभागिताका लागि आह्वान गरेका छन्।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय