उर्लाबारी / राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयको हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका प्रदेश अध्यक्ष लिलानाथ पौडेलले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम रहनुभएको थियो।

कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरबहादुर मोक्तान, वडा नं ८ का वडा अध्यक्ष कुलबहादुर कार्की, यशोदा शाक्य, निरोज तिम्सिना, दीपक भट्टराई, मातृका धिमाल,बिशाल राई , तारा श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा वरिष्ठ कलाकार सिताराम ताजपुरिया र वरिष्ठ संगीतकार तथा गायक कृष्णभक्त राईलाई सम्मान गरिएको थियो। स्वागत मन्तव्य संगीतकर्मी संघ कोशी प्रदेशका उपाध्यक्ष हरी वाग्लेले दिनुभएको थियो ।

वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले स्वागत मन्तव्यका क्रममा संगीत विना जीवन अधुरो हुने बताउनुभयो।
सांस्कृतिक कार्यक्रमका क्रममा विभिन्न आकर्षक सांगीतिक प्रस्तुति समेटिएको थियो, जसमा छेसाङ तामाङको विशेष प्रस्तुति समेत रहेको थियो।


