उर्लाबारी / “मानिसको रगत नालीमा हैन, नाडीमा बगाऔँ” भन्ने नाराका साथ सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीले मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखाको प्राविधिक सहयोगमा उर्लाबारी–७ स्थित बरगाछी चोकमा शनिबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन भएको हो।


कार्यक्रमको अध्यक्षता संस्थाका नगर अध्यक्ष चन्द्र बहादुर बिश्वकर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. ७ की वडा अध्यक्ष उर्मिला थापा रहनुभएको थियो।
विक्रम संवत् २०६२ सालमा स्थापना भएको संस्थाले विश्वका १०६ राष्ट्रमा सामाजिक कार्य गर्दै आएको अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो। सरसफाइ, रक्तदानजस्ता विविध सामाजिक सेवामा संस्था अग्रसर रहँदै आएको उहाँले उल्लेख गर्नुभयो।


रक्तदान कार्यक्रममा वडा सदस्य मनमाया तामाङ, सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, सञ्चार क्लबका वर्तमान अध्यक्ष कुमार खड्का ,सञ्चारकर्मी टीका सिम्खडा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य तामाङले समाजमा यस्ता सेवा प्रवर्द्धन गर्ने संस्थाहरु थप आवश्यक रहेको बताउनुभयो। सेवा दलका सदस्य राजिव दियालीले सन्त निरंकारी मण्डलले गर्दै आएको मानव परोपकार सम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि उर्मिला थापाले “मानिसको रगत नालीमा हैन, नाडीमा बगाऔँ” भन्ने नाराले संस्थाको उच्च सेवा भावना झल्काएको बताउँदै मानव सेवामा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।

उर्लाबारी ७ स्थित कार्यालय रहेको सन्त निरंकारी मण्डल उपशाखामा हाल ७२ जना सदस्य सक्रिय छन्। शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ३३ प्रिन्ट रगत संकलन गरिएको आयोजकले जानकारी दिएको छ।


