१७ वैशाख / उर्लाबारी
उर्लाबारीस्थित गोदावरी अस्पतालमा १० दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गोदावरी अस्पताल र उर्लाबारी जेसीजको सहकार्यमा बिहीबारदेखि सुरु हुने उक्त शिविर १० दिनसम्म सञ्चालन हुनेछ।
“तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता” भन्ने मूल नाराका साथ शिविर सञ्चालन गरिने उर्लाबारी जेसीजका अध्यक्ष भाइटीका भट्टराईले जानकारी दिए। शनिबार बाहेक हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ।

अस्पतालका प्रशासन प्रमुख धिरज निरौलाकाअनुसार शिविरमा निःशुल्क ओपीडी सेवा र ब्लड सुगर फास्टिङ तथा पीपी सेवा प्रदान गरिनेछ।
त्यसैगरी, अन्य विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। प्रयोगशाला परीक्षण, अपरेसन सेवा, बेड तथा राउन्ड शुल्कमा २५ प्रतिशत छुट र युएसजी तथा एक्स-रे सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

उल्लेखित सेवाबाहेक अस्पतालमा फिजिसियन सेवा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाड जोर्नी तथा नसारोग विशेषज्ञ सेवा, नवजात तथा बाल रोग विशेषज्ञ सेवा, सर्जरी विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, मानसिक रोग विशेषज्ञ सेवा, मुत्र रोग विशेषज्ञ सेवा, एनेस्थेसिया तथा पेन म्यानेजमेन्ट सेवालगायत अन्य सेवा सुलभ र भरपर्दो रूपमा उपलब्ध रहेको छ ।



