१७ वैशाख/ उर्लाबारी
उर्लाबारी वडा नम्बर २ सुनझोडास्थित सुनझोडा सामुदायिक वनमा एक जेष्ठ नागरिक झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
बुधबार बिहान करिब ११:३० बजे सामुदायिक वनमा रहेको असारे रुखमा साडीको पासो लगाई ७२ वर्षीया गुणकुमारी खड्का मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार खड्का झापा जिल्लाको शिवशताक्षी नगरपालिका–४, पाँचगाछीकी स्थायी बासिन्दा हुन्। यस्तै प्रहरीले खड्का केही समयदेखि डिप्रेशनको समस्याबाट पीडित भई उपचाररत रहेको जनाएको छ । उनी हाल सिरुझारस्थित छोरी दुर्गा सुवेदीको घरमा बस्दै आएकी थिइन्।
मंगलबार राति करिब ३ बजे घरबाट निस्केकी खड्कालाई परिवारले हराएको भनी प्रहरीमा जानकारी दिएको थियो। त्यसपछि खोजी गर्ने क्रममा बुधबार बिहान उनी सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरिक्षक बरालले बताए ।
खड्काको शव छोरा छत्रबहादुर खड्काको रोहबरमा पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको उर्लाबारी प्रहरीले जनाएको छ।


