१७ वैशाख/ उर्लाबारी
उर्लाबारी नगरपालिकालाई आगामी आ.व.०८२/०८३ भित्र बाल मैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान अन्तर्गत वडावडामा अभियान तीब्र पारिएको छ ।
नगरपालिकाका १ र ६ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेका छन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पूरा गरेकाले नगरपालिकाका दुई वटा वडा बालमैत्री वडा घोषणा गरिएको भन्दै बाँकी रहेका वडालाई समेत बालमैत्री वडा घोषणा गर्न आफूहरु तयारी गरिरहेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बाले जानकारी दिईन्।
बालमैत्री स्थानीय शासन नीतिगत प्रकृयागत कार्यान्वयनका साथसाथै बालमैत्री वडा घोषणाका लागि २, ७ र ८ नम्बर वडामा वडास्तरीय अभिमुखिकरण कार्यक्रम भइरहेकाले चाडै बालमैत्री वडा घोषणा गरिने उनले बताईन्।बालमैत्री वडा घोषणाका लागि सरोकारवाला व्यक्ति, जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा सरकारले जारी गरेको परिपूर्ण हुनुपर्ने सुचीका सम्बन्धमा जानकारीसहित घोषणा हुन बाँकी वडामा कार्यक्रम भइरहेका छन् ।
उर्लाबारी –२ का वडाध्यक्ष राजनकुमार कडेलले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा भइसकेको जनाउँदै २ नम्बर वडा बालमैत्री वडा घोषणा हुनमात्रै बाँकी रहेको बताए ।बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष कडेलको भनाई छ।
बालमैत्री वार्ड घोषणा गर्नुअघि सम्बन्धित वडामा अभिमुखिकरण कार्यक्रमहरु गरी लगत संकलन गर्ने काम भइरहेको सहजकर्ता कमला राउतले बताईन् । अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनका ५१ सुचकमा वार्ड भित्रको अवस्थाको बारेमा घरधुरी सर्बेक्षणबाट आएको तथ्यांकमा आधारित रहि निश्कर्षमा पुग्ने गरेको उनी बताउछिन्।
सहजकर्ताराउतका अनुसार ५१ सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।
त्यसैगरी एक वर्ष भित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनु पर्दछ ।यस्तै छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लवको प्रतिनिधित्व, बाल भेला भई आएका योजनाहरू समावेश भएको लगायतका कार्य हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
यसैबिच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल बालबालिकाको स्वास्थ्य, शिक्षा तथा समग्र वृद्धि विकासलाई प्राथमिकतामा राखेर नगरपालिकाले योजना तर्जुमा गर्दै आएको बताउछन्। घोषणाका लागि घोषणा मात्रै होइन, त्यसको दिगोपना हुने गरी काम गर्नुपर्ने उल्लेख गर्दै नगर प्रमुख खरेलले अभियान सफल हुनु आफैंमा सुन्दर पक्ष भएपनि दिगोपना अभाव महशुस हुनै नदिन संयुक्त प्रयासको खाँचो औल्याएका छन्।
यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले नेपाल सरकारको उद्देश्यलाई सफलता दिलाउन बालमैत्री स्थानीय शासन वडादेखि नगरपालिका घोषणामा साथ दिन सबैलाई आग्रह गरेका छन् ।
हरेक बालबालिकाले स्वस्थ जीवन बिताउने र शारीरिक, मानसिक, र सामाजिक विकासको अवसर आउने उनीहरूको अधिकार भएको जनाउदै प्रमुख प्रशासकीय अधिकृत गुप्ताले भने, ‘बालबालिकालाई कुनैपनि प्रकारको शोषण,बलात्कार, वा हिंसाबाट सुरक्षित रहनु अहिलेको चुनौती देखिएको छ ।’
नेपाल सरकारले आगामी २०८७ सम्म मुलुकलाई बालमैत्री स्थानी शासन घोषणा गर्ने राष्ट्रिय लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय