
उर्लाबारी नगरपालिकाको नगर प्रहरीले करिब १ सय केजी प्रतिबन्धित मुग्री माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ। शुक्रबार उर्लाबारी–६ मा लाग्ने साप्ताहिक बजार (सुक्रबारे) बजार बाट याम कार्कीको कमाण्डमा खटिएको नगर प्रहरीको टोलीले ती माछा नियन्त्रणमा लिएको हो।

नियन्त्रित माछा उर्लाबारी–३ स्थित सोल्टी खोलामा नष्ट गरिएको नगर प्रहरी प्रमुख याम कार्कीले जानकारी दिनुभयो। भारतबाट आयात हुने मुग्री जातका माछा नेपालमा स्वास्थ्य र वातावरणीय कारणले प्रतिबन्धित भए पनि खुला सिमानाको फाइदा उठाउँदै व्यापारीहरूले अवैध रूपमा नेपाल भित्र्याउने गरेका छन्।
नगर प्रहरी प्रमुख कार्कीका अनुसार यस्तो अवैध व्यापार रोक्न नगर प्रहरी सक्रिय रूपमा निगरानी गरिरहेको छ र आवश्यक कारबाही अगाडि बढाउने बताउनु भयो ।

यसअघि पनि गत हप्तामात्रै झण्डै ५० हजार रुपैयाँ बराबरको २०० केजी प्रतिबन्धित मुग्री माछा नियन्त्रणमा लिई नष्ट गरिसकेको छ।