रतुवामाई । रतुवामाई नगरपालिका वडा नं. ६ मा सञ्चालन गरिएको नौमती बाजा बजाउने तालिम र बेकरी बनाउने तालिम बिहीवार एक कार्यक्रमबीच सम्पन्न भएको छ।

समापन कार्यक्रममा नगर प्रमुख नागेश्वर प्रसाद सिंहले सहभागीहरुलाई उद्यमशीलताको शुभकामना दिँदै उनीहरूलाई आवश्यक प्रविधि र सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख सिंहले नौमती बाजा तालिममा सहभागीहरुले अहिले नै विभिन्न स्थानबाट बाजा बजाउन निम्तो आउन थालेको जानकारी पाउँदा खुशी लागेको बताए। उनले यस प्रकारका तालीमले परम्परागत संस्कृतिको संरक्षण र प्रचारमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।

त्यसैगरी, बेकरी तालिमका सहभागीहरुले आफैँले बनाएका स्वादिलो केक तथा अन्य बेकरी सामग्री नगर प्रमुख लगायत उपस्थित अतिथिहरुलाई चखाएका थिए। सहभागीहरुको सीप र प्रयासको प्रशंसा गर्दै सिंहले यस्ता सीप आधारित तालिमले स्वरोजगार तथा आत्मनिर्भरता अभिवृद्धिमा सहयोग पुग्ने धारणा राखे।
कार्यक्रममा अन्य अतिथि वक्ताहरुले पनि यस्ता तालिमहरुलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै सहभागीहरुलाई आफ्नो सीपलाई व्यवसायमा रूपान्तरण गर्न प्रोत्साहन दिएका थिए।

तालीमका सहभागीहरुलाई नगरप्रमुख सिह द्वारा प्रशंसा पत्र वितरण गरिएको थियो ।


