युवा संघ उर्लाबारीद्वारा मदनको स्मृतिमा दिप प्रज्वलन
उर्लाबारी / राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले ३२औं मदन–आश्रित स्मृति दिवस मनाएको छ। शनिबार साँझ उर्लाबारी–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरी दिवंगत नेताद्वयप्रति सम्मान व्यक्त गरिएको हो।
कार्यक्रममा दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको योगदानको स्मरण गरिएको थियो।

मन्तव्य राख्दै युवा संघका केन्द्रीय सदस्य तथा वडा नं. ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले मदन भण्डारीका विचारहरू बुझ्न जरुरी रहेको बताए। उनले मदन मार्गमा हिँड्न सके मात्र देशको विकास र समृद्धिमा उल्लेखनीय सफलता प्राप्त गर्न सकिने धारणा राखे।
कार्यक्रममा युवा संघ मोरङ जिल्ला सचिवालय सदस्य तथा नगर इञ्चार्ज केशव घिमिरे, जिल्ला सदस्य सुजन अधिकारी, पार्टी नगर सदस्य मन्दिप लिम्बू र विष्णु बोहोरालगायत नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नगर कमिटी अध्यक्ष नितम चौहानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन नगर सचिव शम्भु गौतमले गरेका थिए।

वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको स्मरणमा प्रत्येक वर्ष जेठ ३ गते यो दिवस मनाइँदै आएको छ।


