गत वर्षको विनाशकारी बाढीले मोरङको उर्लाबारी नगरपालिका–९ स्थित बाेडरलाइन मगरटोल, इन्द्रेझोडा क्षेत्रका बासिन्दाहरूको जीवन अस्तव्यस्त बनाएको थियो। मावा खोलाको कटानले गाउँका धेरै घर परिवार तनावमा परे। बग्न सक्ने खतरा देखिएपछि रातभर सुत्न नसकेका ती तीतो क्षणहरू अहिले पनि धेरैका मानसपटलमा ताजै छन्। तर, यो वर्षको चित्र भने केही फरक देखिन थालेको छ। बाढीको त्यो भयावहता फेरि नदोहोरियोस् भन्ने चिन्ताले प्रेरित भई यसपटक जनप्रतिनिधिहरू पूर्वतयारीमा जुटेका छन्। वडा अध्यक्ष नरबहादुर मोक्तानको अगुवाइमा वडा सदस्य गणेश किम्दाङ र प्राविधिक राम गड्तौला सँगै स्थल अवलोकन गर्दै जोखिम न्यूनीकरणका उपायमा जुटेका छन्। “गएको वर्षको अवस्था स्मरण गर्दा अहिले नै सचेत हुन जरुरी छ। प्राकृतिक विपत्तिबाट जोगिन पूर्वतयारी नै उत्तम उपाय हो,” अध्यक्ष मोक्तानको भनाइ स्पष्ट छ— सजगता नै सुरक्षाको आधार हो।

स्थानीयहरूले समेत जनप्रतिनिधिसँग हातेमालो गर्दै जोखिम न्यूनीकरणमा सक्रियता देखाइरहेका छन्। मावा खोलाको किनारमा जेसीबी लगाएर काम सुरु भइसकेको छ भने केही दिनभित्रै तटबन्ध निर्माणको काम सुरु हुने तयारी गरिएको छ। खोलाको बहाव नियाल्दै, बगाउने दिशाहरू चिनिँदै, जस्तोसुकै विपत्तिको सामना गर्न सक्ने योजनाका साथ गाउँ तयार हुँदैछ। स्थानीयको अपेक्षा एउटै छ— यसपालिको बर्खा बाढीको त्रास होइन, सुरक्षित जीवनको भरोसा लिएर आओस्।

यो प्रयास जनप्रतिनिधिको संवेदनशीलता र समुदायको सहभागिताले कसरी विपत्तिलाई अवसरमा बदल्न सकिन्छ भन्ने उदाहरण पनि हो। संकटको क्षणमा एउटै स्वर, एउटै सोच— सुरक्षित उर्लाबारीको सपना साकार बनाउँदैछ।


