विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार गाडीलाई विराटनगरमा सीटी सफारीले ठक्कर दिएको छ ।
विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा सोमबार साँझ ७ः३० बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सीटी सफारीले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार मन्त्री हाङगाम सवार गाडी कञ्चनबारी चोकमा ‘ट्राफिक रेड लाइट’मा रोकिएको थियो । ‘ट्राफिक लाइट’मा रोकिएर रहेको गाडीलाई सफारीले पछाडिबाट ठक्कर दिएको जोशीको भनाइ छ ।सफारीको ठक्करबाट गाडीको पछाडिको ‘लाइट’ फुटेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन ।
घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी बरगाछीबाट असई भोलानाथ वाग्ले नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।वाग्ले नेतृत्वको टोलीले सफारी चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई नियन्त्रणमा लिएको छ । सफारी चालकको लापरबाहीले दुर्घटना भएको र थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए ।


