उर्लाबारी (१७ जेठ) — पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकालाई जोड्ने सुनझोडा खोलामा बन्ने मोटरेबल पुलको शिलान्यास प्रतिनिधिसभा सदस्यद्वय डिगबहादुर लिम्बू र सुनिल शर्माले संयुक्त रूपमा गरेका छन्।

पुल ५६ करोड ८ लाख ९३ हजार रुपैयाँको लागतमा कार्की बन्धु कन्स्ट्रक्सन प्रालिले निर्माण गर्नेछ।

२०८२ साल जेठ ८ गते सम्झौता भई २०८३ साल चैत ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। शिलान्यास कार्यक्रममा सांसद लिम्बू र अन्य प्रतिनिधिहरू स्थानीय घरघरमा पुगेर खुसी साट्दै करिब ६ सय मिटर पैदल यात्रा गरेका थिए। जोखिम मोलेर खोलाको बाढी पार गरेका सांसदद्वय र अन्य प्रतिनिधिहरूका साथै स्थानीय बासिन्दालाई जेसीभी र ट्रयाक्टरको सहायताले कार्यक्रम स्थल पुर्याइएको थियो।

कार्यक्रममा प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, मेयर गंगाप्रसाद खरेल (उर्लाबारी) र मोहन तुम्बापो (पथरीशनिश्चरे), उपमेयर मीना खतिवडा पौडेललगायत उल्लेख्य उपस्थिति थियो। पुल बनेपछि करिब १० हजार स्थानीयवासी लाभान्वित हुने जनाइएको छ। पुलले व्यापार, पर्यटन र स्थानीय विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।



