उर्लाबारी / उर्लाबारी नगरपालिकाले नगरभित्र रोजगारी सिर्जना गर्ने रोजगारदाता तथा श्रमीकहरुलाई सम्मान गरेको छ । नगरपालिकाअन्तर्गत रोजगार सेवा केन्द्रको आयोजनामा ‘श्रमको सम्मान राष्ट्रको अभियान’ कार्यक्रम अन्तर्गत उर्लाबारी नगरक्षेत्रका दश वटा रोजगार प्रदायक संस्था र एक सय ३५ जना श्रमीकहरुलाई नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जनप्रतिनिधिबाट सम्मान गरिएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नरमाया हातकला उद्योगकी संचालिका नरमाया दंगाल,, पशुपति दालमोठ उद्योगका संचालक तेजकुमार रिजाल, तिम्सिना स्टिल उद्योगका निरोज तिम्सिना, अजय किराना पसलका जुगलकिशोर बाहेती, निरु ढाका कपडा उद्योगकी निमला चौहान, दाहाल स्टिल इन्डस्ट्रीजका मीनप्रसाद दाहाल ‘मिलन’, विजी–मोरल कन्स्ट्रक्सनका विकास बुढाथोकी, स्वतन्त्र निर्माण व्यवसायी मजदूर संघका अध्यक्ष मनोज लुइटेल, बगाले इँटा तथा टायल उद्योगका तेजबहादुर थापा, जुत्ता चप्पल उद्योग सञ्चालनकर्ता दाताराम ढकाललाई प्रशंसा पत्र र दोसल्लासहित सम्मान गरिएको छ ।
त्यस्तै कार्यक्रममा उर्लाबारी नगरभित्र रहेर अहोरात्र श्रम गरी दैनिकी चलाउने एक सय ३५ जना मजदुरलाई सम्मान गरिएको छ । सबैलाई नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले टीका, खाँदा र न्यानो कपडा प्रदान गरी सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाप्रसाद खरेलले निजी क्षेत्रले उत्पादन र रोजगारीमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै यस्ता सम्मान कार्यक्रमले उद्योगी–उद्यमीलाई अझ प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरको विकास निर्माणमा श्रमीक वर्गले पुर्याएको योगदानलाई अवमुल्यन गर्न नहुने बताउनुभयो ।
उपप्रमुख मीना खतिवडा पौडेलले आगामी दिनमा थप रोजगारदाता र नवप्रवर्तनशील व्यवसायीहरूको पहिचान गरी श्रमीक हितका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै रोजगार शाखा प्रमुख विनिता शर्माले श्रमप्रति व्यक्ति तथा समाजको सोचाईमा परिवर्तन ल्याउने गरी कार्य भइरहेको बताउनु भयो । श्रमीक र रोजगारदाताहरुको समस्या, भोगाइहरु बुझ्ने र स्थानीय पालिकाले ल्याएका उद्यमी, व्यवसायी र श्रमीकमैत्री कार्यका बारेमा अवगत गराउने हेतुले कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, विभिन्न वडाका वडाध्यक्षहरु, नगर कार्यपालिकाका सदस्य, टोल विकास संस्थाको प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नम्बर ७ का उपाध्यक्ष उर्मिला थापा लगायतको आतिथ्यता रहेको थियो ।




