दमक, झापा – दमक नगरपालिका–२,३,४,५ मा अवस्थित मदन डाँगीदेखि ताराबारी डिपोसम्मको नमूना सडक किनारामा आज वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। नगरको समृद्ध र हरित वातावरण निर्माण गर्ने लक्ष्यका साथ आयोजित कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम थापा स्वयं उपस्थित भएर वृक्षारोपणमा सहभागी बने।
सडकको दायाँबायाँ हरियाली विस्तार गरी पर्यावरणमैत्री वातावरण बनाउनुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै नगरपालिकाले यो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमको प्रमुख उद्देश्य भनेको शहरी सौन्दर्य अभिवृद्धि गर्नुका साथै धुलो, धुँवा, गर्मी र प्रदूषण नियन्त्रणमा सहयोग पु¥याउनु रहेको नगरप्रमुख थापाले बताए।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष, दमक नगरपालिकाका प्राविधिक टोलीका सदस्यहरू, निर्माण कार्यमा संलग्न ठेकदार कम्पनीका प्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू तथा सरोकारवाला निकायहरू सहभागी थिए। वृक्षारोपणमा स्थानीय स्वयंसेवकहरू पनि सक्रिय रुपमा सहभागी भएर सडकछेउ विभिन्न जातका रुखहरूको बिरुवा रोपिएको थियो।
नगर प्रमुख थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “सडक निर्माण मात्र पर्याप्त हुँदैन, त्यसलाई वातावरणमैत्री बनाउन हामीले सोच्नुपर्छ। आजको वृक्षारोपण कार्यले नमूना सडकलाई साँच्चिकै ‘नमूना’ बनाउने दिशातर्फ ठुलो पाइला चालिएको छ।”
कार्यक्रमको क्रममा स्थानीय बासिन्दाले पनि यस्ता अभियानमा निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वृक्षारोपण गरिएका बिरुवाहरूको संरक्षण र स्याहार नगरपालिकाले नियमित रूपमा गर्ने बताइएको छ।







