उर्लाबारी । सञ्चार क्लब नेपाल, उर्लाबारी मोरङको आयोजनामा सञ्चारकर्मीहरूलाई लक्षित गरी “एआई प्रविधि र साइबर अपराध” सम्बन्धी २ दिने सचेतना तालिम सुरु भएको छ। तालिममा प्रमुख सहयोग कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हाे।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुब बहादुर श्रेष्ठ प्रमुख प्रशिक्षकका रूपमा उपस्थित थिए । तालिममा, एआई (कृत्रिम बौद्धिकता) को वर्तमान प्रयोग, पत्रकारितामा यसको सकारात्मक पक्ष र साइबर अपराधको जोखिमबारे प्रस्ट रुपमा जानकारी दिइएकाे थियाे।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले एआई र साइबर प्रविधिको प्रयोगबारे सकारात्मक दृष्टिकोण राख्न आग्रह गर्नु भएकाे थियाे। उहाँले भन्नुभयाे“एआई उपयोगी छ, तर यसमा पूर्ण रूपमा भर नपरी विवेक प्रयोग गर्नु आवश्यक छ।”
कार्यक्रमको सञ्चालन सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारीले गरेका थिए भने, स्वागत मन्तव्य क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमन घिमिरेले राखेका थिए। क्लबका पूर्व अध्यक्ष नवराज भट्टराईले तालिमको उद्देश्य र महत्त्वबारे प्रस्ट पारेका थिए।
राजनीतिक दलका प्रतिनिधिका रूपमा नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालले उर्लाबारीको समृद्धि र सुशासनमा पत्रकारको कलमको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नु भएकाे थियाे । उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्दै राज्यले पत्रकारहरूका लागि रोजगार सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रमका सभापति सञ्चार क्लब नेपाल, उर्लाबारीका अध्यक्ष कुमार खड्का रहेका थिए। होटल ग्राण्डमा सञ्चालन भएको कार्यक्रममा उर्लाबारी आसपासका ४० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियाे।







