२०७२ साल अघि नै माँ पञ्चकन्या हाउजिङ कम्पनीले हाल बिजनेश टावर भएकाे क्षेत्रमा स्थानीयसँग सस्तोमा १२ बिघा जग्गा खरिद गरेको थियो । जग्गाको भाउ ह्वात्तै बढाउने योजनाअनुसार १८ तले दमक बिजनेश टावर निर्माणका लागि पञ्चकन्याले ०७३ मा चार बिघा १८ कट्ठा सात धुर सरकारलाई दान दियो । पञ्चकन्या हाउजिङका सञ्चालकहरू हुन् केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं ।
तर, अचम्म के भयो भने दान दिइसकेको जग्गामध्ये दुई विघा ‘सापटी दिएको’ भन्ने कागज दुई वर्षपछि गरियो । उक्त जग्गा नगरपालिकाले ६ महिनाभित्र पञ्चकन्यालाई फिर्ता गर्ने र फिर्ता गर्न नसके चलनचल्तीको दररेटअनुसार मूल्यांकन गरी पैसा बुझाउने भनी ३१ जेठ ०७५ मा जनप्रतिनिधीले नै पञ्चकन्या हाउजिङसँग कागजी प्रतिबद्धता जनाए । सम्झौतापत्रमा दमक नगरपालिकाका तत्कालीन मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी र दमक– ३ का वडाध्यक्ष नविन बरालको हस्ताक्षर छ । बराल अहिले पनि वडाध्यक्ष छन् । दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाको रोहबरमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार तत्कालीन समयमै स्थानीयसँग लिएर नगरपालिकाले १५ कट्ठा जग्गा फिर्ता गरेको थियो । तर, २५ कट्ठा फिर्ता गरेको थिएन । सात वर्षसम्म फिर्ता नहुँदा पनि पञ्चकन्या हाउजिङ चुपचाप बसिरह्यो । जब टावर निर्माण भयो, तब उक्त कम्पनीले ३१ जेठ ०७५ को सम्झौताअनुसार २५ कट्ठा जग्गा वा सोबराबरको मूल्य माग्दै नगरपालिका धाइरहेको छ । उक्त क्षेत्रमा अहिले प्रतिकट्ठा जग्गाको भाउ ५० लाख माथि पुगेको छ ।


