उर्लाबारी नगरपालिका र इलामको सूर्योदय नगरपालिकाबीच वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण कार्यक्रम (रेमी) परियोजना सन्चालन सम्बन्धि अन्तरपालिका अभ्यास आदानप्रदान भएको छ । शुक्रबार सूर्योदय नपा.का उपप्रमुख दुर्गा बराल नेतृत्वको प्रतिनिधि मण्डललाई उर्लाबारी नगरपालिका कार्यालयमा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल तथा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले स्वागत तथा सम्मान गर्दै असल अभ्याससम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोही कार्यक्रममा पुर्व मन्त्री मोरङ १ का संघीय सांसद डिगबहादुर लिम्बूलाई उर्लाबारीका नगर प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतले स्वागत तथा सम्मान गर्नुभयो । सांसद लिम्बू उर्लाबारीका विकास परियोजनाका विषयमा छलफलका लागि उर्लाबारी नगरपालिका कार्यालयमा आउनुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख खरेलले भविष्यमा पनि यस्ता आपसी सहकार्य र सिकाइको कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीप र पूँजीसहित स्वदेश फर्केका युवालाई परिचालन गरेर स्थानीयस्तरमा आर्थिक सामाजिक रुपान्तरणमा अथाह सम्भावना पहिल्याउन आफुहरु अग्रसर भएको नगर प्रमुख खरेलले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर उपप्रमुख मीना खतिवडा पौडेलको सभापतित्व रहेको थियो ।
रेमी परियोजनाअन्तरगत सामाजिक र आर्थिक क्षेत्रमा गरिएका उपलब्धिहरु, सफल उद्यमीहरू, पुनः एकीकरण कार्यक्रम संचालन गर्न बनाइएका नीति, नियम र निर्देशिका तथा त्यसलाई सञ्चालन गर्न बनेको कार्यविधि लगायतका बारेमा दुवै पालिलकाका जनप्रतिनिधि, कर्मचारीबीच छलफल तथा अन्तरकिया भएको हो । रेमी परियोजना सञ्चालन गर्दा भएका उदाहरणीय काम, सफल उद्यमीका अनुभव तथा कार्यक्रम सञ्चालन गर्दा आईपरेका समस्या र चुनौती तथा समस्या समाधान गर्न अपनाईएका उपाय तथा आगामी दिनमा कार्यक्रम संचालनमा प्रभावकारी रुपमा सुधार गर्नुपर्ने विषयमा दुवै पालिकाबीच अनुभव र योजनाहरु साटासाट गरिएको उर्लाबारी नपा.रेमी परियोजनाकी रोजगार परामर्शकर्ता संगिता कार्कीले आफ्नो प्रस्तुतिमा उल्लेख गर्नुभयो ।
सूर्योदय नपा.को टोलीले उर्लाबारीमा सञ्चालित पुनःएकीकरण कार्यक्रम, कृषि प्रविधि, सामाजिक सुरक्षा, शिक्षा तथा स्वास्थ्य कार्यक्रमहरूको अवलोकन गरेको थियो । कार्यक्रममा सूर्योदय नपा.का उपप्रमुख बरालले विगत चार वर्षमा गरेका कार्यहरू, भौगोलिक चुनौतीहरु र समाधानका उपायहरूबारे प्रस्ट्याउँदै भन्नुभयो,‘रेमिट्यान्स मात्रै ल्याएर पुग्दैन, फर्किएका दाजुभाइको सीप र अनुभवलाई पनि स्थानीय स्तरमा उपयोग गर्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा रेमी परियोजनाबाट लाभान्वित भई मलखाँद उद्यमी बनेका उर्लाबारी ९ का राजिव खड्का र जुत्ता चप्पल उद्यमी वडा नम्बर ७ का तुलसी रेग्मीले आआफ्ना सफलता कथा सुनाएका थिए ।


