उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका–६ स्थित नयाँ बसपार्क निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। शनिबार एक कार्यक्रमका बीच नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनाकुमारी खतिवडा पौडेल, वडा नं. ६ का अध्यक्ष चिन्तामणि पौडेल, अन्य वडाअध्यक्ष तथा सदस्यहरू, नगरपालिकाका प्रमुख इन्जिनियर पोखराज साह र निर्माण व्यवसायी कम्पनी अभि डिजाईनर्स एण्ड डेभलपर्सका प्रतिनिधि नविन गौतमको उपस्थितिमा स्थल नापजाँच गर्दै निर्माण कार्य शुभारम्भ गरिएको हो।

गत असार २० गते उर्लाबारी नगरपालिका र ठेकेदार कम्पनी अभि डिजाईनर्स एण्ड डेभलपर्सबीच रु ११ करोड ३ लाख ८५ हजार लागतमा बसपार्क निर्माणको सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी १८ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यो अत्याधुनिक बसपार्कमा त्रि-तले टर्मिनल भवन, पार्किङ, यात्रु प्रतिक्षालय, टिकट काउन्टर, सार्वजनिक शौचालय, र विभिन्न सेवासुविधाहरू समेटिने बताइएको छ। निर्माणपछि उर्लाबारी क्षेत्रको यातायात सेवा थप व्यवस्थित, सुरक्षित र यात्रु मैत्री हुने विश्वास नगरपालिकाले लिएको छ।
नगर प्रमुख खरेलले भने, “उर्लाबारीलाई पूर्वको महत्वपूर्ण व्यापारिक तथा यातायात केन्द्रको रूपमा विकास गर्न यो बसपार्क परियोजना माइलखुट्टी सावित हुनेछ। यहाँबाट लामो तथा छोटो दुरीका गाडीहरू सहज रूपमा सञ्चालन गर्न सकिनेछ।”

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चिन्तामणि पौडेलले निर्माण प्रक्रिया गुणस्तरीय, पारदर्शी र समयमा सम्पन्न हुने कुरामा वडा कार्यालयले निरन्तर निगरानी गर्ने बताए।
ठेकेदार कम्पनीका नविन गौतमले पनि निर्धारित समयमै निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
उर्लाबारी लगायत आसपासका स्थानीयवासी तथा व्यवसायीले नयाँ बसपार्कको निर्माणले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्। अब छिट्टै उर्लाबारीमा व्यवस्थित र सुविधासम्पन्न बसपार्कको सपना साकार हुने बताइएको छ।



