रुपन्देही–३ उपनिर्वाचन : ओम प्रकाश पंगेनीको सम्भावित उम्मेदवारीले प्रवासीको आकांक्षा र रास्वपाको रणनीतिलाई तीव्र बनायो ग्लोबल गोरखा टाइम्स, रुपन्देही रुपन्देही क्षेत्र नम्बर ३ को राजनीतिक मञ्च फेरि एकपटक तातेको छ। कार्तिक १८ गतेका लागि तय गरिएको उपनिर्वाचन नजिकिँदै गर्दा यहाँको राजनीतिक माहोल तरंगित बनेको छ। स्वर्गीय सांसद दीपक बोहराको असामयिक निधनपछि रिक्त बनेको यस क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै जिल्लामा राजनीतिक दलहरूबीच चर्को प्रतिस्पर्धा सुरु भएको छ।

निर्वाचन आयोगले मिति घोषणा गरेको केही दिनमै जिल्लामा प्रमुख राजनीतिक दलहरूको बाक्लो आवागमन देखिन थालेको छ। नेताहरूको शिष्टाचार भेट, कार्यकर्ता प्रशिक्षण, घरदैलो अभियान र विभिन्न रणनीतिक छलफलहरूले रुपन्देही–३ लाई प्रदेशकै केन्द्रबिन्दुमा पुर्याएको छ। यसबीच, चुनावलाई केन्द्रमा राख्दै प्रवासी नेपाली समुदायका केही अगुवा स्वदेश फर्किएका छन्। उनीहरूले विभिन्न पार्टी नेतृत्व र कार्यकर्ताहरूसँग सघन भेटघाट गर्दै राजनीतिक समीकरणलाई नयाँ मोड दिन थालेका छन्। यही सन्दर्भमा, मूल घर पाल्पा जिल्ला भए पनि हाल रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–९ मा स्थायी बसोबास गर्दै आएका ओम प्रकाश पंगेनीको नाम विशेष रूपमा चर्चामा आएको छ। बुबा स्वर्गीय रुकमागत पंगेनी र आमा दया कुमारी पंगेनीका सुपुत्र ओम प्रकाश पंगेनी विगत केही वर्षदेखि भारतको हैदराबादमा फुड व्यवसायमा उल्लेखनीय सफलता हासिल गर्दै आएका थिए। तर, व्यवसायिक यात्रासँगै सामाजिक उत्तरदायित्वको भावना बोकेका उनले गाउँका विद्यालयहरूको मर्मत, स्थानीय प्रहरी कार्यालयको पूर्ण निर्माण, खेलकुद कार्यक्रमहरूको आयोजना तथा प्रवास र स्वदेशमा रहेका नेपालीहरूलाई संकटका बेला आर्थिक र भौतिक सहयोग गरेर समुदायमा विशिष्ट पहिचान बनाएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा हाल पूर्वपक्षको मुद्दामा थुनामा रहेका चर्चित नेता रवि लामिछानेको राजनीतिमा प्रवेशसँगै पार्टीमा आवद्ध भएका हुन्। ओम प्रकाश पंगेनी अहिले रास्वपाको निकट संगठन प्रवासी नेपाली सम्पर्क मंच भारतको राष्ट्रिय समिति सदस्य पनि हुन्। रुपन्देही–३ को उपनिर्वाचनमा रास्वपा तर्फबाट सागर ढकालको उम्मेदवारीको चर्चा चलेसँगै पंगेनी पनि सम्भावित उम्मेदवारको रूपमा अगाडि आएका छन्।

पछिल्लो समय उनी पार्टीको शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेका छन् भने भारत प्रवास संगठनलाई सुदृढ बनाउने अभियानमा समेत विशेष सक्रियता देखाएका छन्। रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनहस्ताक्षर अभियान सञ्चालन गर्ने क्रममासमेत पंगेनी अग्रपंक्तिमा देखिएका छन्। उनी दिनहुँ सयौं नेपालीलाई भेटेर रवि लामिछानेमाथि गरिएको ‘अन्याय’को विरोध गर्दै हस्ताक्षर संकलन गरिरहेका छन्। यद्यपि रास्वपाले उनलाई उम्मेदवारको रूपमा औपचारिक रूपमा कसरी हेरिरहेको छ भन्ने विषय अझै स्पष्ट नभए पनि उनका नजिकका सहयोगीहरूले पार्टीभित्र प्रवासी र स्वदेशमा रहेका कार्यकर्ता सबैलाई समान दृष्टिले हेर्ने नीति रहेको बताएका छन्। ओम प्रकाश पंगेनीले आफ्नो धारणा स्पष्ट भने –
“प्रवासी नेपालीलाई पार्टीले टिकट दिनु अत्यन्त राम्रो सन्देश हुनेछ। तर संसद सदस्य बन्ने विषय कुनै क्षेत्र वा समुदायलाई मात्रै समेट्नका लागि होइन। त्यो क्षेत्रको नीति निर्माणमा दख्खल राख्न सक्ने क्षमतावान व्यक्ति हुनैपर्छ। यदि बालेन, हरक, गोपी, सागर, कुलमान घिसिङ जस्ता बौद्धिक क्षमताका व्यक्ति उम्मेदवार बन्छन् भने म आफैं चुनावी कमाण्डर भएर अगाडि सर्छु र जसरी भए पनि रुपन्देही–३ मा रास्वपालाई विजयी गराउँछु। तर, त्यस्तो क्षमतावान व्यक्ति नआएसम्म म मेरो उम्मेदवारी दाबी गरिरहनेछु। मलाई पूर्ण विश्वास छ, पार्टी शीर्ष नेतृत्वले रुपन्देही–३ मा विजय सम्भव बनाउने उम्मेदवारलाई नै टिकट दिनेछ।”
स्वदेशमा केही अवसर नपाएर विदेशमा लामो समय पसिना बगाएका प्रवासी नेपालीहरू स्वदेश फर्केर देश र जनताको लागि केही गर्ने सपना बोकेका छन्। ओम प्रकाश पंगेनी पनि त्यही समूहका प्रतिनिधि पात्र हुन्। उनले ग्लोबल गोरखा टाइम्ससँग आत्मविश्वासपूर्वक भने –

“पार्टीले मलाई निराश गर्ने छैन। देश र जनताको लागि केही गर्न स्वदेश फर्किएको हुँ। मलाई विश्वास छ, प्रवासी नेपालीहरूको योगदानलाई पार्टीले सम्मान गर्छ। प्रवासमा रहेर देशका लागि लडेका हामीलाई समान अवसर मिल्नैपर्छ।”यस सन्दर्भमा संगठन विस्तारको क्रममा प्रवास क्षेत्रमा रहेका रास्वपा प्रवासी नेपाली सम्पर्क मञ्च भारत का राष्ट्रिय सचिव श्याम कार्कि भन्नुहुन्छ
“मिडियामा आएका हरेक विषयमा टिप्पणी गर्नु जरुरी हुँदैन। तर यदि ओम प्रकाश पंगेनीजीको मनसाय यस उपनिर्वाचनमा उम्मेदवारी दिने हो भने त्यो निकै सकारात्मक कुरा हो। प्रवास क्षेत्रबाट भोट वा नोटको लागि मात्रै होइन, क्षमतावान व्यक्तिको खोजीमा हामी सधैँ छौँ। प्रवासबाट जति व्यक्ति आउँछन्, हामी निराश गर्दैनौं। हाम्रो पार्टीभित्र प्राथमिक निर्वाचन प्रणाली छ। सबैले त्यही प्रक्रिया पार गर्नुपर्छ। अहिलेको बैंकलिप राजनीतिमा विदेशबाट फर्किनेहरूले देशको परिवर्तनमा भूमिका खेल्ने आँट देखाएका छन्। राजनीतिक प्रतिस्पर्धा खुला र स्वच्छ हुनुपर्छ। रुपन्देही–३ मा हामी विजयको सुनिश्चितता देखिरहेका छौँ। प्रवासलाई पनि अन्याय हुँदैन, रुपन्देही–३ लाई पनि अन्याय हुँदैन। सभापतिमाथि भएको राजनीतिक प्रतिशोधको जवाफ रुपन्देही–३ का जनताले मतको शक्तिबाट अवश्य दिनेछन्।”
रुपन्देही–३ को उपनिर्वाचन मात्र एउटा सिटको प्रतिस्पर्धा होइन, यो चुनाव प्रवासी नेपालीहरूको राजनीतिक प्रतिनिधित्वको, समान अवसरको र नयाँ राजनीतिक चेतनाको पनि एउटा संकेत बन्ने देखिन्छ। ओम प्रकाश पंगेनीको सम्भावित उम्मेदवारीले यस निर्वाचनलाई अझ रोचक र बहुपरिमाणात्मक बनाएको छ। आगामी दिनमा रास्वपाको निर्णय र स्थानीय जनताको मूडले रुपन्देही–३ को राजनीतिक नतिजा निर्धारण गर्नेछ।


