उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको संसदीय दल बैठकले केपी शर्मा ओली नेतृत्वको सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि भूमि अध्यादेश विधेयक ल्याउँदा विरोध गरेको जसपा नेपालले अहिले पनि भूमि विधेयकसहित प्योकजमा सहमति खोजे पनि सरकार त्यसमा तयार नभएपछि समर्थन फिर्ताको निर्णय गरेको हो ।
जसपा नेपालले सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भएको छैन । प्रतिनिधिसभामा जसपा नेपालका ५ जना र राष्ट्रियसभामा ३ जना सांसद छन् । राष्ट्रिय सभामा सरकारलाई बहुमत पुर्याउन जसपा नेपालको साथ आवश्यक थियो
जसपाले समर्थन औपचारिक रूपमा फिर्ता लिएपछि सरकार राष्ट्रियसभामा अल्पमतमा पर्नेछ । ५९ सदस्यीय राष्ट्रियसभामा नेपाली कांग्रेससँग १६ र नेकपा एमालेसँग ११ सिट छ । सरकारमा रहेको अर्को दल लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ ।
बहुमतका लागि ३० सिट चाहिनेमा यो सङ्ख्या जोड्दा २८ मात्र हुन्छ । जसपाको समर्थन रहँदा प्रतिनिधिसभामा सरकारसँग दुई तिहाइ मत रहेकोमा अब त्यो पनि गुमेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दल सङ्ख्या अब ६ वटामा झरेको छ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ ।




