बिहानीको पहिलो किरण झुल्किन नपाउँदै उर्लाबारी–७ बरगाछीको सडक छेउछाउ झाडू लगाउँदै गरेको दृश्य धेरैलाई अब नौलो लाग्दैन । झोलामा फोहर जम्मा गर्ने प्लास्टिक, काँधमा बाल्टिन र मनमा सफा र हरियाली शहर बनाउने सपना बोकेका ती व्यक्ति हुन् उर्लाबारी ७ बरगाछीका ५८ वर्षीय देबेन्द्र श्रेष्ठ, जसले विगत १५ वर्षदेखि उर्लाबारीलाई सफा, हरित र समृद्ध बनाउने अभियानलाई आफ्नो जीवनको लक्ष्य बनाएका छन् ।
वि.सं. २०२४ साल बैशाख १ गते उर्लाबारी–९ मा राजेन्द्र श्रेष्ठ र स्वर्गीय तुलसीमाया श्रेष्ठको कोखबाट जन्मिएका देबेन्द्र सानैदेखि सरल स्वभावका थिए । २०४० सालमा बुबाको व्यापारिक योजना अनुसार उर्लाबारी–७ बरगाछीमा बसाइँ सरेर आएपछि त्यहीँबाट सुरु भयो उनको समाज परिवर्तनको यात्रा । सुरुका दिनमा बरगाछीमा स्थापित लक्ष्मीप्रसाद देवकोटाको सालिक छेउमा रोपिएका बिरुवालाई जोगाउने उद्देश्यले उनले बिहान पानी हाल्न थाले । यही क्रममा उनले वरपर सफा राख्नुपर्छ भन्ने भावनालाई जीवनशैलीकै रूपमा लिन थाले ।
देबेन्द्र हरेक बिहान ४ बजे उठ्छन् र बरगाछीबाट सुरु गरेको उनको सफाई अभियान पश्चिमतर्फ बागखोर र उत्तरतर्फ उर्लाबारी चोकसम्मको सडक सफा गर्छन् । त्यो पनि आफ्नै खर्चमा, कुनै सरकारी सुविधा वा पारिश्रमिक बिना नै । उनको समर्पण देखेर उर्लाबारी नगरपालिकाले उनलाई विशेष सम्मान पनि गरिसकेको छ । अहिले उनी वडा नं. ७ को फोहोर व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । केही हप्ता अघि प्रधानमन्त्री रोजगार योजना अन्तर्गत समितिलाई प्राप्त ८० हजार रुपैयाँको रकमले मछिन्द्र टोलदेखि चिउरामिल छेउसम्मको करिब एक किलोमिटर सडक मर्मत गरिएको छ ।

त्यतिमा मात्र उनको योगदान सीमित छैन । उनले आफ्नो खर्चमै उर्लाबारी–९ स्थित छप्पनदेखि नेगीटोल हुँदै रतुवामाईको सीमासम्मको झन्डै एक किलोमिटर सडक किनारमा ८ सय वटा सुपारीका बिरुवा रोपेका छन् । बिरुवा रोपेर मात्र चित्त बुझ्दैन उनको, ती बिरुवाको हेरचाह पनि निरन्तर गर्दै आएका छन्।
“समाज सफा हुनु भनेको सोच सफा हुनु हो । सफा समाजमा मात्रै समृद्धि आउँछ उनी भन्छन ।
यहाँ धेरैले “सरकारले के गर्‍यो?” भनेर प्रश्न गर्छन्, त्यहाँ देबेन्द्र श्रेष्ठजस्ता नागरिक “मैले के गर्न सक्छु?” भनेर काममा लागिरहेका छन् । उनीजस्ता निःस्वार्थ अभियानकर्मीको योगदानले जुनसुकै समाज रूपान्तरण सम्भव हुन्छ ।

सफा उर्लाबारी, समृद्ध उर्लाबारी – यो नारालाई कर्ममा परिणत गरेर देखाउने देबेन्द्र श्रेष्ठ जस्ता नायकहरुलाई समाजले चिन्न र बुझ्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय