उर्लाबारी / उर्लाबारी नगरपालिकाले हरित नगरी निर्माण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण अभियान तीव्र रूपमा अघि बढाएको छ। सोही क्रममा आज उर्लाबारी नगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने लक्ष्मीझार कान्छीचोक क्षेत्रमा १२५ वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ।

नगर प्रमुख गंगा खरेलका अनुसार नगर क्षेत्रलाई वातावरणमैत्री, स्वच्छ र हराभरा बनाउने दीर्घकालीन योजनाअन्तर्गत वृक्षारोपण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो। “हरेक वडामा वृक्षारोपण र हरियाली विस्तारको कार्य योजनाबद्ध रूपमा अघि बढिरहेको छ,” उनले बताए।

रोपिएको बिरुवाहरूमा लिची, अम्बा, सिसौ, कटुस, चमेली लगायतका फलफूल तथा सजावटी प्रजातिहरू रहेका छन्। स्थानीय समुदाय, टोल विकास संस्था, विद्यार्थीहरू र नगरका कर्मचारीहरूको संयुक्त सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

नगर प्रमुख खरेलले बिरुवा रोपेर मात्र नभई त्यसको संरक्षण र समुचित हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिए। “हामी रोपेका बिरुवाले फलेर नगरलाई हराभरा बनाउनेछ ,” उनले थपे।

उर्लाबारी नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तै वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय