उर्लाबारी / जीवनले हरेक मोडमा नयाँ सपना देखाउँछ र ती सपना पूरा गर्नका लागि केही मानिसले अथक प्रयास गर्छन् ।
मोरङको उर्लाबारी नगरपालिका –६ प्रगति टोलकी १९ वर्षीया पूर्णिमा राई यस्तै एक उदाहरण हुन् । जसले नेपाली फुटबलमा आफूलाई नयाँ ताराका रूपमा स्थापित गरेकी छिन् ।
भर्खरै बंगलादेशमा सम्पन्न २० वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा उनको शानदार प्रदर्शनले उनको परिवार र समग्र गाउँलाई गर्वले भरिदिएको छ ।
नेपाली फुटबलको नयाँ ताराका रूपमा उदाएकी पूर्णिमाको सफलताले उनको परिवार त खुसी हुने नै भए । परिवारसँगै सिंगो गाउँमा खुसीको छाएको छ ।

पूर्णिमाकी आमा इन्द्रवती राईलाई अहिले छोरीको उत्कृष्ट प्रदर्शनका लागि बधाई दिने र सोधपुछ गर्नेहरूको घुइँचो लाग्न थालेको छ । पूर्णिमाको घरमा बुवा दीपेन्द्र राई, आमा इन्द्रवती र दिदी भाइ छन् ।
दीपेन्द्रको घर ओखलढुंगा भए पनि परिवार कामको सिलसिलामा विगत १५ / १६ वर्ष भारतको आसाममा बिताएको थियो ।

२०७६ सालको अन्त्यमा कोभिडको समयसँगै भारतबाट उर्लाबारी फर्केको राई परिवारको दैनिकी फर्निचर सम्बन्धी काममा बित्ने गरेको छ ।
पर्दा पछाडिको संघर्ष र खुसी
बुधबार बिहान पूर्णिमाको घर पुग्दा कोही थिएनन् । पूर्णिमाकी आमा इन्द्रवती घरमा को हो ? भनेर छिमेकीको घरबाट हतारिँदै आइन् ।
घरमा एक्लै भएको बताउँदै उनले पूर्णिमाका बुवा दीपेन्द्र कामको सिलसिलामा पहाड गएको र भाइ नजिकैको रहेको राधिका माविमा परिक्षादिन गएको बताइन् ।
पूर्णिमालाई नेपाली फुटबल मात्र नभएर दक्षिण एसियाको फुटबलले नेपालको नयाँ तारा भनेर चिनिरहँदा उनको परिवारलाई गाउँ घरमा बधाई दिँदै छोरीले विदेशमा राम्रो खेलिन् । हामीले त सबै खेल हेर्यौं भन्ने गरेका छन्, इन्द्रवतीले सुनाइन्

उनले भनिन्, ‘तपाईंहरू पनि पूर्णिमाको बारेमा जान्न आउनु भएको होला । अहिले हाम्रो परिवारमा खुसीको कुनै सीमा नै छैन । घर परिवार मात्रै होइन गाउँ नै खुसी भएको छ । छोरीको प्रशंसा गर्ने धेरै छन् । गाउँलेहरू हाम्रो गाउँकी चेलीले आफ्नो मात्रै होइन, हाम्रो गाउँकै नाम राखेर उज्यालो बनाइ भन्छन् ।’
बुवा दीपेन्द्रले बंगलादेशमा भएको छोरीको खेल साहुको मोबाइलबाट हेरेको र आफूलाई धेरै नै खुसी लागेको कुरा सुनाएको इन्द्रवतीले बताइन् ।
आर्थिक अवस्था कमजोर भएको हुँदा परिवारमा एउटा राम्रो (स्मार्ट फोन) फोन नभएको र उनीहरूसँग सामान्य मोबाइल मात्रै भएकाले पूर्णिमाको खेल हेर्न अरूमाथि निर्भर हुनु परेको सुनाइन् ।
राधिका माविको खेल मैदानमा उर्लाबारी र जहदा बिचको मैत्रीपूर्ण खेलमा छोरीको खेल प्रत्यक्ष हेरेको बताउँदै, इन्द्रवतीले भनिन्, ‘घरमा भएको एउटा टिभी बिग्रिए र नबनाएको कारण साफ च्याम्पियनसिपको खेल छिमेकीको घरमा गएर हेरिउ । छोरीले जितिरहँदा उत्साहित भयौँ । हार्दा नरमाइलो लाग्यो । छोरीसँग धेरै कुराकानी नहुने भए पनि फाइनलमा हार व्यहोरेपछि थोरै समयका लागि राति पूर्णिमाले फोन गरेको बताइन् । फाइनलमा पराजय भएपछि पूर्णिमाले फोन गर्दा छोरीको अनुहार टिभीमा मलिन देखेकोले हार्नुको कारण सोध्नुको सट्टा अर्को पटक जित्ने गरी खेल्न भने ।’
सानैदेखिको लगन र परिवारको साथ
पूर्णिमा सानैदेखि हक्की स्वभावकी थिइन् पूर्णिमा र खेल्नका लागि केटी साथी नै चाहिँदैनथ्यो ।
भारतको आसाममा १५ / १६ वर्ष बिताएर २०७६ सालको कोभिडको समयमा पूर्णिमाको परिवार उर्लाबारी आयो । भारतमै रहँदादेखि नै फुटबल खेल्ने पूर्णिमालाई परिवारले कहिल्यै रोक्ने प्रयास नगरेको इन्द्रवतीले बताइन् ।
उनलाई खेल्नबाट रोक्नुको सट्टा स्वतन्त्रता पूर्व खेल्न दिइएको थियो । परिवारले खेलमा कुनै बन्देज नलगाएकै कारण उनी उर्लाबारीमा मात्रै सीमित नभई खेल्नका लागि झापा, सुनसरी, पाँचथर, इलामलगायत विभिन्न स्थानमा जान्थिन् । हामीले केही गर्न नसके पनि, आफ्नो खुट्टामा उभिरहेकी छिन्, इन्द्रवतीले सुनाइन् ।
उनको सानैदेखि फुटबल खेल्ने सोख थियो । नानीहरू आफै नै सक्छ होला । उनीहरूलाई शिक्षित बनाउन पाए हुन्थ्यो । एन्फाले जिल्ला फुटबल संघले समेत साथ सहयोग गरेको छ । त्यसैले त होला आज उसले खेल्ने अवसर पाएर राम्रो प्रदर्शन गर्यो ।
पूर्णिमाले बाहिर खेल्न थालेपछि, राम्रो कमाइ होला र घर खर्च पनि पठाउला नि भन्ने जिज्ञासामा इन्द्रवतीले हाँस्दै भनिन्, ‘पठाउँदैन भन्न पनि पाप लाग्छ । म आफै कहिलेकाहीँ भन्छु, यसो अलि खर्च भए पठाऊ है । यति भनिरहँदा नपठाएको अवस्था छैन । उसले सक्ने जति सक्छ र गरिरहेको छ ।’
फुटबल यात्रा र भविष्य
प्रगति टोलमा भाडाको घरमा बस्ने राई परिवारको २ कोठामध्ये एउटामा पूर्णिमाले जितेका ट्रफी, मेडल, प्रशंसापत्र र खादा मिलाएर राखिएको छ ।
६ वर्षअघि बसाइँ सरेको राई परिवारकी माइली छोरी पूर्णिमा साँझ–बिहान फुटबलमा समय दिन मैदान जान्छिन् । नियमित प्रशिक्षणका लागि स्कुलको मैदानमा केटी साथी नहुँदासमेत उनी एक्लै कि त केटाहरूसँग खेल्ने गर्थिन् ।
उनले स्थानीय क्लब, सुरुंगा, जिल्ला र प्रदेश स्तरमा समेत खेलेकी छन् । गत वर्ष सम्पन्न महिला राष्ट्रिय लिगमा प्रदेशलाई शीर्ष ५ मा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
राधिका माविमा कक्षा ८ मा अध्ययन गर्न जोडिएकी पूर्णिमा हाल कक्षा १२ मा अध्ययनरत छिन् । उनको खेल कौशल देखेर नै जिल्लाबाट छनोट भएकी उनी केही महिनाअघि थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको ३० जनाको बन्दप्रशिक्षणमा समेतपर्न सफल भएकी हुन् ।
परीक्षाका कारण त्यसपछि अघि बढ्न नसकेकी पूर्णिमाले २० वर्ष उमेर समूहको साफमा भने स्थान पक्का गरिन् । आक्रामक शैलीमा फरवार्डमा खेल्ने पूर्णिमामा विपक्षीको कमजोरीबाट फाइदा लिन सक्ने कौशल रहेको जिल्ला फुटबल संघ मोरङका उपाध्यक्ष विशाल तामाङले बताए ।
हाल उनी काठमाडौंको संकटा क्लबमा आबद्ध छिन् । पूर्णिमाका भाइ दीप पनि फुटबलमा रमाउँछन् र गाउँघरमा दुवै जनालाई ‘मेसी’को नामबाट चिनिन्छ ।
फुटबलका कारण विगत ५ महिनादेखि घर आउन नपाएकी पूर्णिमाले अब दसैँमा मात्रै घर आउने बताएको इन्द्रवतीले सुनाइन् ।
एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमालले मोरङबाट विगतमा पनि धेरै खेलाडी राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । उनले आफू मोरङको जिल्ला अध्यक्ष हुँदासमेत महिला फुटबलको विकास गर्नुपर्छ भनेर जिल्लाका विभिन्न ठाउँमा महिला खेलाडी संकलन गर्ने र प्रशिक्षणको व्यवस्था मिलाएको बताए ।
आफू पनि खेलाडी भएको हुँदा खेलाडीले कस्तो पीडा भोग्नु पर्छ भन्ने कुरा राम्रोसँग बुझेको बताउँदै, धिमालले भने, ‘एउटा खेलाडीको ध्येय नै राष्ट्रिय टोलीमा पर्नु हो । पछिल्लो समय एन्फाले ग्रास रुट लेबलबाटै खेलाडी उत्पादन गर्ने योजनाका साथ गाउँ–गाउँ र विद्यालय स्तरमा फुटबलका गतिविधिहरू गर्न थालेपछि पूर्णिमा जस्ता खेलाडीको पहिचान हुन सकेको छ । मोरङबाट यसअघि पनि महिला खेलाडीहरू राष्ट्रिय टोली हुँदै विभिन्न क्बलहरुमा आबद्ध भइसकेका छन् ।’
उर्लाबारी बसाइँ आएपछि पूर्णिमामा राम्रो खेलाडीमा हुनुपर्ने लक्षण देखेर हामीले यहाँ प्रशिक्षण गराइरहेका अन्य खेलाडीसँगै उनलाई प्रशिक्षण दिन थालेको बताउँदै, धिमालले भने, ‘उनीमा फुटबल खेल्ने रुचिका साथै राम्रो कला थियो । फुटबल खेल्ने महिला खेलाडी उर्लाबारी थारै भए पनि उनी केटाहरूसँग पनि अभ्यास गर्थिन् । उनको खेलको ‘प्रमोट’ गर्नका लागि उर्लाबारीबाट प्रतिनिधित्व गर्दै पालिका स्तरीय प्रतियोगिता हुँदै जिल्ला, प्रदेशका विभिन्न प्रतियोगितामा खेलाउन थालेपछि उनले आफ्नो खेललाई राम्रो पर्दै गएपछि अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा नाम कमाउन सफल भइन् ।’
पूर्णिमा राईको यो यात्राले देखाउँछ कि संघर्ष, परिवारको साथ र दृढ इच्छाशक्तिले कसरी कुनै पनि सपनालाई साकार पार्न सकिन्छ । उनी नेपाली फुटबलका लागि मात्र होइन, धेरै युवाका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।




