उर्लाबारी, मोरङ ,उर्लाबारी–९ आम्बारी डाँडाटोलमा सञ्चालित ‘फुलबारी मार्ग’ सौन्दर्यकरण अभियानलाई थप ऊर्जा मिलेको छ। नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बुले मंगलबार फुलबारीलाई थप सुन्दर बनाउन २ थान फलैचा (बेरेन्चि) हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा सभापति लिम्बुले भन्नुभयो,हर्क दाइको अभियान शब्दले होइन, कर्मले प्रेरणा दिन्छ। यो काम साँच्चिकै उदाहरणीय छ।
उहाँले स्थानीय स्तरमा यस्तो जन–सहभागितात्मक र सिर्जनात्मक अभियानप्रति जनप्रतिनिधिको साथ आवश्यक भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

सभापति लिम्बुले हर्क थेबेले सुरु गरेको फुलबारी अभियानले उर्लाबारीको पहिचान बदल्न थालेको उल्लेख गर्दै, जनप्रतिनिधिले मात्रै होइन, प्रत्येक नागरिकले पनि आफ्नो टोल, गाउँ र शहरलाई परिवर्तन गर्न सक्ने सम्भावना हुन्छ भन्ने उदाहरण हर्क दाइ हुन्।

फलैचा हस्तान्तरण कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता तथा युवा क्लबका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा धन्यवाद दिँदै हर्क थेबेले भने:यो अभियान कसैको एकल होइन, सबैको साझा सपना हो। साथ र समर्थनले नै फुलबारी अझ फुलिरहेको छ।




