उर्लाबारी । उर्लाबारी चौकदेखि हाटखोलासम्म मधुमल्ला सडकखण्डको दायाँबायाँ बजार सौन्दर्यीकरण तथा नाला सरसफाई कार्यको शिलान्यास गरिएको छ । उर्लाबारी नगरपालिकाको आयोजना अन्तर्गत निर्माण हुने बजार सौन्दर्यीकरण कार्यको नगरप्रमुख गंगाप्रसाद खरेल तथा उपप्रमुख मीना खतिवडा पौडेलले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो ।

नगर प्रमुख खरेलले उर्लाबारी बजारको सौन्दर्य बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति सो आयोजना निर्माण सुरु भएकाले निर्माणका क्रममा केही स्थायी – अस्थायी संरचना भत्किएका भए कसैले पनि चित्त दुखाउन नहुने बताउनुभयो । उहाँले नगरभित्रका अन्यत्र ठाउँहरुलाई सुन्दर बनाउने र आगन्तुकहरुको आकर्षण थलोका रुपमा स्तरोन्नति गर्ने काम भइरहेको बताउनुभयो । आयोजनाको ठेक्का डीडी कन्ट्रक्सन दमक २ झापाले पाएको हो ।

२०८२ चैत २० गतेसम्म बजार सौन्दर्यीकरणको काम सम्पन्न गरिसक्नुपर्ने छ । सो कम्पनीलाई निर्माण सामग्रीको गुणस्तरदेखि समयमै काम सम्पन्न गर्न नगर प्रमुख खरेलले निर्देशन दिदै कुनै कमजोरी भेटिए भुक्तानी रोक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नगर उपप्रमुख मीना खतिवडा पौडेलले उर्लाबारीको उन्नयनमा तथा विकास निर्माणका काममा कोहीबाट कुनै प्रकारको अवरोध सिर्जना नहुने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख विकाश दाहालले सडकको दुबैतर्फ पेभिङ ब्लक, रेलिङको संरचना निर्माण हुनुका साथै फुटपाथ कायम गरिनेछ । कुल ७९ लाख २५ हजार रुपैयाँको लागतमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ ।

६ नम्बर वडाका वडाध्यक्ष चिन्तामणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको शिलान्याश कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष रविन लामाको सभापतित्व रहेको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता थियो ।


