उर्लाबारीमा राजमार्ग विस्तारले डुबानको जोखिम, नगरपालिका समाधान खोज्दै
२०८२ श्रावण २२, बुधबार १५:२१
उर्लाबारीमा राजमार्ग विस्तारले डुबानको जोखिम, नगरपालिकाको हस्तक्षेप हरिप्रसाद कोइराला उर्लाबारी, मोरङ । एसियाली विकास बैंकको सहयोगमा भइरहेको पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत मोरङको उर्लाबारी खण्डमा डुबानको समस्या चुलिँदै गएको छ। नगरपालिकाको पूर्वी सिमाना मावाखोलादेखि बक्राहाखोलासम्मको करिब तीन किलोमिटर क्षेत्रमा निर्माणाधीन सडकको कारण डुबानको समस्या देखिएको हो। सडक उत्तरतर्फका बस्तीभन्दा झन्डै १० फिट उचाइमा निर्माण भइरहेको छ। यसले पानीको प्राकृतिक निकास अवरुद्ध बनाएको नगर प्रमुख गङ्गाप्रसाद खरेल बताउनुहुन्छ। उहाँका अनुसार, “साबिकका पैनी मासिएका छन्, पानीको बहाव रोकिँदा लगातार पाँच/छ घण्टा भारी वर्षा हुँदा उर्लाबारी–४, ५, ६ र ७ का बस्तीहरू डुबानमा पर्ने अवस्था आएको छ।” नगरपालिकाले सडकको उत्तर किनारमै छुट्टै नाला राख्न माग गर्दै संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनासँग छलफल थालेको छ। नगरप्रमुख खरेलका अनुसार मावा र बक्राहा खोलामा पानीको निकास सुनिश्चित गर्न नयाँ नक्साङ्कन भइरहेको छ। स्थानीयवासीले भने योजना निर्माणको बेला पर्याप्त सर्भे नगरी काम थालिएकोले बाढी र डुबानको मारमा आफूहरू परेको गुनासो गरिरहेका छन्। समाधानका लागि नगरपालिकाको पहलप्रति आशावादी देखिए पनि तत्कालीन राहतको अपेक्षा अझै टुङ्गिएको छैन।