उर्लाबारी / पाठेघरमा घाउ भई अत्याधिक रक्तस्रावका कारण थलिएकी उर्लाबारी–६ निवासी रिमा लिम्बूको परिवारलाई उर्लाबारीका चारवटा लाईन्स क्लबले राहत सामग्री प्रदान गरेका छन्।

लायन्स जोन चियर पवन अग्रवालको नेतृत्वको टोलीले आर्थिक रूपमा कमजोर अवस्थामा रहेका रिमाको परिवारलाई चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।
सहयोग कार्यक्रममा लाईन्स ईस्टर्न मोरङका अध्यक्ष बेदनीधी तोम्सिना, पूर्व अध्यक्ष तथा जोन चियर पवन अग्रवाल, लाईन्स क्लब अफ उर्लाबारीका अध्यक्ष प्रियश वायती, सुवास सापकोटा, विष्णु आचार्य लगायतको टोलीले सक्रिय समन्वय गरेका थिए।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै लाईन्स क्लब अफ उर्लाबारीका पूर्व अध्यक्ष तथा जोन चियर पवन अग्रवालले रिमा लिम्बूका दुई छोराको कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक खर्च क्लबले बेहोर्ने प्रतिबद्धता जनाए।
उनले भने, “सामाजिक सेवामा सधैं अग्रसर रही आएको हाम्रो क्लबले अब रिमाका छोराहरूको शिक्षाको जिम्मेवारी पनि लिएको छ। उनीहरूको कक्षा १० सम्मको सम्पूर्ण पढाइ, आवश्यक शैक्षिक सामग्री तथा आवश्यक पर्ने खर्च क्लबले व्यहोर्नेछ।”

उर्लाबारी ६ का जनप्रतिनिधि र समाजसेवी वालचन्द्र सुब्बाको पहलमा दमकस्थित लाईफलाइन अस्पतालमा रिमा लिम्बूको उपचार निःशुल्क रूपमा भैरहेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त सहयोगबाट रिमाको परिवारले केही राहत महसुस गरेको जनाएको छ।
उर्लाबारीका सामाजिक संस्था तथा क्लबहरूद्वारा गरिएको यस्तो सहकार्यले विपत्तिमा परेका परिवारहरूलाई राहत दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।




