उर्लाबारी / सामुदायिक वन दिवस २०८२ को अवसरमा उर्लाबारी १ सानो कत्लेमा वृक्षारोपण एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

सामुदायिक वन उपभोक्ता नगर महासंघ उर्लाबारीको आयोजना तथा हरियाली सामुदायिक सामुदायिक वन उपभोक्ता समुह उर्लाबारी १ को व्यवस्थापनमा वृक्षारोपणसंगै अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले विगतमा वनलाई राजनीतिकरण गर्ने, जथाभावी फडानी गर्ने गरिएको उल्लेख गर्दै अहिले त्यस्तो प्रवृति हट्दै वनको संरक्षण र सम्बर्द्धनमा ध्यान दिइन थालेको बताउनु भएको छ । विगतको उजाड वनलाई अहिले समुदायले हराभरा बनाएको हुँदा हरेक गतिविधि समुदायमा आधारित हुन सके अझ प्रभावकारी हुने उहाँको भनाई थियो । यस्ता दिवसले प्रेरणा मिल्ने मेयर खरेलले बताउनुभयो । सरकारले वनलाई समुदायमा हस्तान्तरण गरेसंगै वन संरक्षणले गर्दा वनको क्षेत्रफल बढेको, गरिबी निवारणमा महत्त्वपूर्ण भुमिका खेलेको महशुस गर्न सकिएको उहाँको कथन थियो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तिलककुमार पाण्डे, सव डिभिजन वन कार्यालय मंगलबारेका प्रतिनिधि पुन्यप्रसाद ओझा, सामुदायिक वन उपभोक्ता महासंघको विभिन्न भुमिकामा रहेका अभियन्ताहरु बालकुमारी कट्टेल, एनकुमारी दाहाल, रामकृष्ण राई, सीता रायमाझी, भीम राई, अर्जुन बास्तोला लगायतले मन्तव्य राखेका थिए ।

वन दिवसको अवसर पारेर हरियाली सामुदायिक वन परिसरमा मेयर खरेलका साथै अतिथिहरु वृक्षारोपण कार्यमा सरिक भएका थिए । बिरुवा रोपणमार्फत हरियाली विस्तार गर्ने उद्देश्यसहित सम्पन्न कार्यक्रममा उर्लाबारीका ८ वटै सामुदायिक वनका प्रतिनिधिका साथै स्थानीयवासीको सक्रियता रहेको थियो । कार्यक्रममा इन्दिरा बुढाथोकीको सभापतित्व रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले वन संरक्षणमा समुदायको उल्लेखनीय योगदानको प्रशंसा गर्दै उपभोक्ताको हित, दिगो विकास, पर्यावरण संरक्षण, स्थानीय रोजगारी, गरिबी न्यूनीकरण, लैंगिक समानता र जीविकोपार्जन जस्ता क्षेत्रमा सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको बताए ।
बिरुवा रोपणमार्फत हरियाली विस्तार गर्ने उद्देश्यसहित सम्पन्न कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।




