उर्लाबारीमा शिक्षा विधेयकविरुद्ध प्याब्सनको ज्ञापनपत्र
२०८२ श्रावण ३१, शुक्रबार १८:०३
उर्लाबारी – मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयकका केही व्यवस्थाविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) उर्लाबारी नगर समितिले बिहीबार नगरप्रमुख गंगाप्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा विशेषगरी संस्थागत विद्यालयलाई पाँच वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्ने प्रावधान हटाउन माग गरिएको छ। प्याब्सनका अनुसार यो प्रावधानले निजी विद्यालयहरूको स्वतन्त्रता र सञ्चालनमा बाधा पुर्याउने सम्भावना रहेको छ। साथै, प्याब्सनले आफ्नो माग पूरा नभए भदौ १ गतेदेखि सबै निजी तथा आवासीय विद्यालय बन्द गर्ने चेतावनी दिएको छ। उनीहरूले साउन २४ देखि चरणबद्ध आन्दोलन पनि सुरु गर्ने जानकारी दिएका छन्। ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका सञ्चालक तथा नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले सहभागी भएका थिए। प्याब्सनले आगामी दिनहरूमा स्थानीय तहसहित केन्द्र सरकारसँग वार्ता गरेर आफ्नो माग पूरा गराउने प्रतिवद्धता पनि जनाएको छ