मिक्लाजुङ गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी तथा विद्यालय सम्मान
२०८२ श्रावण ३१, शुक्रबार १८:३९
उर्लाबारी — मिक्लाजुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) र राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। साउन २८ गते श्री मनोहर जनता मा.वि. मधुमल्लामा आयोजित कार्यक्रममा गाउँपालिकामा रहेका ७ सामुदायिक र ६ संस्थागत विद्यालयका २६ जना विद्यार्थीलाई प्रशंसा पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको हो। पुरस्कृतमध्ये SEE परीक्षामा प्राविधिक धार (सिभिल इन्जिनियरिङ) तथा साधारण शिक्षातर्फ १३ जना विद्यार्थी र कक्षा १२ मा प्राविधिक धार, विज्ञान, शिक्षा तथा व्यवस्थापनतर्फ उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीहरू रहेका छन्। यस अवसरमा २०८१ सालको SEE मा सहभागी ४२ विद्यार्थी सबै उत्तीर्ण भई १००% नतिजा ल्याएको श्री टाँडी मा.वि. रमितेखोला, कक्षा १२ विज्ञानतर्फ सत प्रतिशत नतिजा ल्याएको श्री भगवती मा.वि. मधुमल्ला तथा प्राविधिक धारमा सत प्रतिशत नतिजा ल्याएको श्री कालिका सामुदायिक मा.वि. टाँडीलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो। यी दुवै विद्यालयबाट ३७–३७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। गाउँपालिका अध्यक्ष बबिकुमार राईले उच्च GPA हासिल गर्ने विद्यार्थी र सतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूले गाउँपालिकाको गौरव बढाएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सफल विद्यार्थीको उच्च शिक्षाका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, उपाध्यक्ष दिनेश पौडेलले शिक्षक र विद्यार्थीको मनोबल उच्च राख्न र नतिजाका आधारमा प्रोत्साहन गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारमा लागिरहने बताउनुभयो। शिक्षा प्रमुख काशिनाथ खनालले विगत वर्षदेखि सुरु भएको शिक्षक, विद्यार्थी तथा विद्यालय सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।