
उर्लाबारी / निजिक्षेत्रका विषयमा आवश्यक छलफल गर्न पहिलोपटक उर्लाबारीमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
उद्योग वाणिज्य संघअन्तर्गत उर्लाबारीमा नेपालकै पहिलो मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

सर्वोच्च अदालतको न्याय परिषदले पत्राचार गर्दै नेपालभर रहेका सबै जिल्ला – नगर उद्योग वाणिज्य संघलाई वाणिज्य तथा बैंकिङ समस्याहरूलाई मेलमिलाप को माध्यमबाट समाधान गर्न मेलमिलाप केन्द्र स्थापना गर्न निर्देशन दिएको छ । सोही पत्राचारअनुसार उर्लाबारी उद्योग वाणिज्य संघमा नेपालमै पहिलोपटक उर्लाबारीमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
शुक्रबार मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गा भुषालको प्रमुख आतिथ्यतामा उर्लाबारी उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमबीच उक्त मेलमिलाप केन्द्रको औपचारिक उद्घाटन गरिएको हो।

प्रमुख अतिथि न्यायाधीश भुषालले व्यापार, व्यवसाय र ऋणको लेनदेन सम्बन्धी विवादलाई मुद्दाको रुप धारण गर्नु अघि नै मेलमिलापमार्फत समाधान खोज्ने उद्देश्यले केन्द्र गठन गरिएको बताए। उनले उक्त मेलमिलाप केन्द्रले व्यवसायीहरूलाई परेको आर्थिक तथा कानुनी असहमति मिलाउन सहज भूमिका खेल्ने र न्यायालयसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको जानकारी दिए ।
कार्यक्रममा विशिष्ट अतिथि उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, उर्लाबारी नगर उप प्रमुख तथा न्यायिक समिति संयोजक मिना खतिवडा पौडेल, महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, पथरी उवास अध्यक्ष दिपक बस्नेत, लेटाङ उवास अध्यक्ष खड्गबहादुर श्रेष्ठ, दमक उवास अध्यक्ष गोपाल गुरागाई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, व्यापारी, उर्लाबारी प्रहरी, जनप्रतिनिधि, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव सम्झना खतिवडा आचार्यले गरेकी थिइन् ।




