उर्लाबारी । उर्लाबारी नगर प्याब्सनको आयोजनामा बुधबार सम्पन्न अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा सिनियर तर्फ कुडस बिद्या सदन र जुनियर तर्फ नेपाल आदर्श विद्यालयले प्रथम स्थान हासिल गरेका छन्।

सिनियर तर्फ Migration of young people to abroad विषयमा दमदार प्रस्तुति दिएकी कुडस बिद्या सदनकी श्रेया कोईराला प्रथम भएकी थिइन् भने सप्तकोसी आवासीय माविकी कामना खड्का दोस्रो, र पशुपति आ.मा.विकी निर्जला बस्नेत तथा सनसाईन बोर्डिङ स्कुलकी सन्ध्या खतिवडा तेस्रो स्थानमा परे।

त्यसैगरी, जुनियर तर्फ नेपाल आदर्शकी शुवेक्षा कोईराला प्रथम, भृकुटी मोडलकी नन्दिता ढुंगाना दोस्रो तथा सप्तकोसी आ.मा.विका ग्रिशन न्यौपाने तेस्रो भए।
विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरभरिका निजी तथा आवासीय विद्यालयका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको प्याब्सन उर्लाबारी नगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा उर्लाबारी प्याब्सनका अध्यक्ष सुर्यकुमार पौडेलले अध्यक्षता गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख सालिग्राम काफ्लेले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन कोशी प्रदेश सहसचिव भुवन श्रेष्ठ, प्रदेश सदस्य दिनेश पोख्रेल, प्याब्सन मोरङका सल्लाहकार सुरेन्द्र सुवेदी, नगर कोषाध्यक्ष आनन्द कार्की, सदस्यहरु मातृका प्रसाद खतिवडा , कुबेर न्यौपाने, ढुंडीराज भट्टराई र महेन्द्र बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।

निर्णायक मण्डलमा रुद्र प्रसाद दाहाल र लक्ष्मी प्रसाद चौलागाईं रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य प्याब्सन सदस्य मातृका प्रसाद खतिवडाले राख्नुभएको थियो ।
भने सञ्चालन नगर प्याब्सन सचिव एल.पी. राईले गर्नुभएको थियो।




