उर्लाबारी
उर्लाबारी नगरपालिका–५ का वडा अध्यक्ष रबिन लामाले जेन–जी आन्दोलनपछि वडामा भएको क्षतिको बारेमा जानकारी दिएका छन्। आन्दोलनका क्रममा वडा कार्यालयमा आगलागी भए पनि कम्प्युटरको सीपीयू र हार्ड डिस्क सुरक्षित स्थानमा राखिएको र सम्पूर्ण वडाबासीको डेटाबेस सुरक्षित रहेको उनले स्पष्ट पारेका छन्।
अध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत नगरपालिकाको आगलागि पछिको फोटो पोष्ट गर्दै जनप्रतिनिधिहरूलाई जनताको सम्पत्ति र सुरक्षाप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्। उनले प्रश्न उठाउँदै भनेका छन्, “का गए सबै जनप्रतिनिधि? आफ्नै नगरको सम्पत्ति अनुगमनसम्म नगर्ने? जनताप्रति उत्तरदायी हुनु पर्दैन र?”
“वडा नम्बर ५ को कार्यालयमा आगलागी हुनु अगाडी नै कम्प्युटर को सीपीयू, हार्ड डिस्क सुरक्षित स्थानमा राखेको जानकरी गराउछौं । सम्पुर्ण वडाबासीको डाटा सुरक्षित रहेको जानकरी गराउदछौं l”
योसँगै उनले आफू एक जनप्रतिनिधिको हैसियतले प्राथमिकतामा जनताको सेवा र सम्पत्तिको सुरक्षा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भविष्यमा समेत निरन्तर अनुगमन र सुरक्षा सुनिश्चित गर्ने बताएका छन् ।




