उर्लाबारी / सडक किनारमा रहेर श्रम गरी जीविकोपार्जन गर्दै आएका उर्लाबारी र पथरी क्षेत्रका मोची समुदायका १२ जना श्रमिकलाई अरनिको अस्पताल, उर्लाबारी-५ द्वारा सहयोग प्रदान गरिएको छ।

बिश्वकर्मा पूजा २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष लोलिम पोमु लिम्बुले श्रमिकहरूलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सहयोग स्वरूप श्रमिकहरूलाई वर्षा र घामबाट जोगिने ठूला छाता तथा चिसोबाट बच्न सकिने ज्याकेट वितरण गरिएको थियो।

सहयोग प्राप्त गर्नेमा उर्लाबारी चोकमा कार्यरत ५ जना, साप्ताहिक हटियामा जाने ५ जना तथा पथरी चोकमा रहेका २ जना गरी १२ जना मोची समुदायका श्रमिकहरु रहेका छन् ।
अस्पतालले समुदायमा सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रुपमा यस्ता सहयोग कार्यक्रमहरू गर्दै आएको जनाएको छ।


