३ असोज/ उर्लाबारी
देशैभर संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

यसैबीच शुक्रबार संविधान दिवस २०८२ को अवसरमा उर्लाबारी नगर कार्यपालिकाको कार्यालयमा दिप पज्वलन गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको नौऔं वर्ष पुरा भई दशौं वर्षमा प्रवेश गरेको खुसियालीमा साँझ नगरपालिका परिसरमा दीप प्रज्वलन गरिएको छ ।

नगरपालिकाको आयोजनामा सम्पन्न उक्त दिप प्रज्वलनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतले नगरपालिकाको प्राङ्गणमा साँझ दीप प्रज्वलन गरेका हुन्।
सो अवसरमा दीप प्रज्वलनमार्फत लोकतान्त्रिक संविधानप्रति सम्मान, ऐक्यबद्धता र उत्सवको सन्देश प्रवाह भएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

कार्यक्रममा नगर प्रमुख खरेलसहित उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरु तिलक पाण्डे, रविन लामा, उर्मिला थापा, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, नेकपा एमालेका नगर अध्यक्ष निरोज तिम्सिना, युवा संघ नेपालका संयोजक नितन चौहान, लगायत व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, युवा तथा विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो ।




