मोरङ— मोरङको मिक्लाजुङ गाउँपालिकाले वडा नम्बर ९ का भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सोमवार (कात्तिक १७ गते) जग्गाधनी दर्ता प्रमाण पुर्जा (धनिपुर्जा) वितरण गरेको छ।

अनुसूची–४ बमोजिम ६७ जना लाभग्राहीलाई जग्गाको स्वामित्व प्रदान गरिएको हो। कार्यक्रम मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोरङ जिल्ला अध्यक्ष नविन पौडेल, विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, नापी कार्यालय मोरङका पदाधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले भने, “यो हाम्रो गाउँपालिकाको इतिहासमै महत्वपूर्ण दिन हो। वर्षौँदेखि अधिकारबाट वञ्चित परिवारले आज आफ्नो माटोमा स्वामित्व पाएका छन्। भूमि अधिकार सुनिश्चित गर्नु सामाजिक न्यायको पहिलो कदम हो।” यस अवसरमा स्थानीय बासिन्दाहरूले दशकौँको प्रतीक्षापछि आफ्नो जग्गाको कानुनी स्वामित्व पाउँदा हर्ष व्यक्त गर्दै गाउँपालिका र भूमिसम्बन्धी आयोगप्रति आभार प्रकट गरे। गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलका अनुसार, यसअघि पनि वडा नम्बर ७ र ९ का ५४ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई बसोबास अन्तर्गत धनिपुर्जा वितरण गरिएको थियो। मिक्लाजुङ गाउँपालिकाले क्रमिक रूपमा सुकुम्बासी परिवारहरूलाई भूमि अधिकार दिलाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।


