म तिर्छु कर, बनाउँछु उर्लाबारी नगर” भन्ने मूल नारासहित उर्लाबारी नगरपालिकाले कर तथा खाद्य सुरक्षा सम्बन्धी २७ दिने व्यापक सचेतना अभियान प्रारम्भ गरेको छ। अभियानको औपचारिक उद्घाटन वडा नं. ५ र ६ को सिमानास्थित मधुमल्ला रोडबाट नगरप्रमुख गंगाप्रसाद खरेल, नगर उप प्रमुख मीना कुमारी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडा अध्यक्षहरू, वडा सदस्यहरू तथा नेपाल प्रहरी प्रतिनिधिहरूको संयुक्त उपस्थितिमा गरिएको हो।
अभियानको पहिलो दिन बजार क्षेत्रका व्यवसायीहरूलाई करका प्रकार, कर तिर्ने प्रक्रिया, अनलाइन भुक्तानी प्रणाली, साथै खाद्य सुरक्षाका आधारभूत मापदण्ड बारे प्रत्यक्ष जानकारी दिइयो। नगरपालिकाले कर तिर्ने व्यवसायीका लागि विशेष छुट व्यवस्थासमेत राखेको छ, जसले स्वेच्छिक कर भुक्तानीलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिएको छ।
अनलाइन कर प्रणालीको बारेमा जानकारी गराउँदै अधिकारीहरूले नगरपालिकाको सेवा प्रवाहलाई छिटो, छरितो र आधुनिक बनाउने अभियानले राजस्व व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
२७ दिनसम्म सञ्चालन हुने यो अभियानले नागरिक तथा व्यवसायीको करप्रति पहुँच, बुझाइ र विश्वास बढाउने उद्देश्य लिएको छ। यस क्रममा राजस्व शाखाका कर्मचारीहरू क्षेत्रमै खटिएर नागरिक तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। अभियानबाट नगरको राजस्व प्रणाली पारदर्शी, दिगो र सेवा–उन्मुख बन्ने आकांक्षा कार्यपालिकाका अधिकृत कुबेर ढकालले व्यक्त गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय