उर्लाबारी ८ र ९ को संयुक्त वडा कार्यालय दुर्गापुरी परिसरमा शुक्रबार मध्यान्ह्देखि थामिनक्नुको भीड थियो । सार्वजनिक बिदाको दिन सयौँको संख्यामा भेला भएकाहरु आफ्नो ‘डुबेको रकम’ फिर्ताको आसमा वडा कार्यालयमा जम्मा भएका थिए ।
उनीहरुको एउटै माग थियो ‘हाम्रो रकम फिर्ता गरिपाउँ !’रकम फिर्ता त दिने ! तर, कसले फिर्ता दिने ? सर्वसाधारणबाट जसले रकम बुझेका थिए, दुई सातादेखि उनको अत्तोपत्तो छैन ।
दुर्गापुरी चौकमा सुन पसल संचालन गर्दै आएका तुलसी नामले परिचित तिलप्रसाद श्रेष्ठ परिवारसहित एकाएक बेपता बनेपछि उनीसँग रकम कारोबार गर्नेहरुको ‘बेचैनी’ बढेको छ । पीडितहरु बेहाल भएसँगै आक्रोशित छन् ।
सर्वसाधारणको करोडौँ रकम अपचलन गरेर भागेका श्रेष्ठको खोजीसँगै पीडितहरुलाई न्याय दिन आफुहरुले पहल सुरु गरेको उर्लाबारी – ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले बताए ।
श्रेष्ठ दुर्गापुरीका एसटी मनि ट्रान्सफर एण्ड ज्वेलरीका संचालक हुन् । सुन व्यवसाय, धितो कारोबार, घरजग्गा व्यवसायमा संलग्न तुलसी छोटो समयमै धनाढ्यमा दरिएको उनलाई नजिकबाट जान्नेहरु बताउछन् ।
उनकै अगुवाईमा उर्लाबारी—८ मा एभरेष्ट फन पार्क संचालनमा छ । उनी फनपार्कका अध्यक्षसमेत हुन् । ‘तुलसीले एक सय ५० जनासँग तीन करोड बढी उठाइएको पाइएको छ’ वडाध्यक्ष कार्कीले भने – थप पीडितहरु सम्पर्कमा आउने क्रममा छन् ।