झापाको दमक–४ निवासी ४० बर्षकी कल्पना राईको गर्भपतन गराउन खोज्दा अकस्मात मृत्यु भएपछि शंकाको घेरामा रहेका सञ्चालक घिमिरेलाई पक्राउ गरी ५ दिनको म्याद थप गरिएको हो । जिल्ला अदालत मोरङबाट आज ५ दिनको म्याद थप गरी घटनाको बारेमा अनुसन्धान गरिरहेको उर्लाबारी प्रहरीले जनाएको छ ।
घटना विवरणअनुसार कल्पनाको पेटमा रहेको साढे ५ महिनाको शिशुको गर्भ पतन गराउने सो मेडिकलले २५ हजार लाग्ने बताएको थियो । पीडितहरुका अनुसार त्यस कुरामा सहमत भएपछि औषधि खुवाउने काम भयो । तर, बच्चा झर्छ भनिएपनि पाठेघरको मुख खुल्न सकेन र, झरेन । त्यो अवस्थामा डा. ममता पण्डितले भिडियो एक्स–रे गराइन् । त्यतिबेला उनको बच्चा पेटमा मरेतापनि बाहिर निस्किन नसक्दा आमाको पनि मृत्यु हुने डरले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे जान सुझाव दिएको बताइन्छ ।
यता, मदन भण्डारी अस्पतालमा शनिबार अप्रेसन गरी बच्चा फाल्ने काम भएतापनि ब्लड दिइरहेको तर ब्लड जाने क्रम नरोकिएकोले डाक्टरसहित तत्काल बिरामीलाई घोपामा उपचारका लागि लगिएको थियो । तर, पनि कल्पनाको ज्यान बच्न नसकेको चिकित्सकहरुको भनाई छ ।
यसबारेमा आइतबार मंगलबारे अस्पतालमा शव राखेर पीडितहरुले न्याय खोजेका थिए । त्यसपछि मदन भण्डारी अस्पताल, पीडित, आश्रय मेडिकल, प्रहरीलगायतका प्रतिनिधि बसेर दिनभर छलफल गर्दा आश्रय मेडिकलले गर्भपतनको कानुनी दायरा मिचेका कारण बच्चा र आमाको ज्यान गएको निष्कर्ष निस्केकोले मेडिकल सञ्चालक घिमिरे आइतबारै पक्राउ गरिएको थियो । सोमबार पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।