लेटाङ । सदियौँदेखि चल्दै आएको धामी झाँक्री तथा झारफुक विधि गाउँघरमा मात्र होइन, यो विधि अब सहरमा पनि खुलेयाम रूपमा सुरु भएको छ ।
गाउँघरमा जरो गाडेका यस्ता प्रवृत्ति अब सहरमा पनि खुलेआम रूपमा प्रचार प्रसारका साथ सुरु गरिएको छ । मोरङ जिल्ला लेटाङ नगरपालिका जाँतेमा झारफुक तन्त्रमन्त्र विधिको बारेमा तुल र व्यानर राखेर झारफुक विधिको प्रचारप्रसार गरिएपनि प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको देख्न सकिन्छ ।
चौकमा २४ सै घण्टा प्रहरीको गस्ती हुन्छ । यहाँ हरेक क्षण प्रहरी ड्युटीमा रहन्छन् तर पनि यस्ता प्रविधिको तुल ब्यानर र अड्डा जमाउदा समेत कुनै सुनुवाइ नभएको नगरवासीहरूले गुनासो गरेका छन् । कानुनले समेत प्रतिबन्ध लगाएको यस्ता प्रविधिको बारेमा प्रचारप्रसार सार्वजनिक रूपमै गरिँदासमेत कुनै सुनुवाइ भएको देखिँदैन ।
लामो समयको अनुभवले औषधि र (टुनामुना) को माध्यमबाट जस्तोसुकै पुरानो रोग पनि ठिक गर्ने गरिएको दाबी गरिएको छ । शिवशक्ति बाबा नामको झाँक्रीले पुरानोभन्दा पुरानो छालाको रोग, लिकोरिया, महिनावारीको गडबडी, मिर्गी, प्यारालाइसिस ठिक पार्ने दाबि गर्दै आएका छन् । घरमै लज सञ्चालन गरेर घरमा बिहान ६ बजे देखि ११ बजेसम्म रोगीहरूलाई चेकजाँच गर्दै आएको पाइएको हो ।
‘दिनहुँजसो बिरामीहरू आउने गर्दछन् । प्रत्येक बिरामीसँग लाखौ असुल्ने गरेको पाइएको छ ।
यसरी कानुनले बन्देज लगाएको टुनामुना धामी झाँक्रीको प्रचारप्रसार सार्वजनिक रूपमै हुँदा पनि प्रहरी प्रशासन मौन बस्नु समाजको लागि दुःखद कुरा भएको स्थानिय सन्तोस मगरको गुनासो छ ।
कुनै रोग लागेको छ भने अस्पताल छन्, उहाँले भन्नुभयोे, ‘अस्पतालमा गएर डाक्टरसँग सम्पर्क गर्दा निको हुने कुरालाई यस्ता झाँक्रीहरुले तुल ब्यानर झुण्ड्याएर आम जनतालाई रोग निको पार्ने बहानामा ठग्दै आएका छन् । यसप्रति राज्य र प्रहरी प्रशासन चनाखो हुनुपर्छ । चनाखो नभएकै कारण अहिलेको समयमा पनि मानिसहरू यस्ता ढोंगी साधु सन्त, धामी झाँक्रीको कुरामा लागेर आफ्नो पैसा मात्र होइन जीवनसमेत बर्बाद गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।’
दिनहुँजसो विभिन्न समाचार माध्यमबाट धामी झाँक्री, निम हकिमको कुरामा नलाग्न प्रचार प्रसार भए पनि मानिसहरू जानीजानी यस्ता व्यक्तिहरूको हातको कठपुतली बन्ने गरेको उहाँले बताउनुभयो । अझ पोइसा दिइ झाँक्रीले युटुबर बोलाएर सबै रोग निको हुने दाबि सहित स्कृपटेड भिडियो बनाउने गरिएको एक युटुबरले बताए । एकजना साथीले बोलाएर गएको भिडियो खिचेको ५ हजार पाईयो एक युट्युबरले भने ।
यस्ता क्रियाकलाप बन्द गर्न गराउन स्वयं प्रशासन नै निरीह देखिएको छ । यस्ता काम गर्ने गराउने दुवैलाई कानुनी कठघरामा ल्याई कानुनबमोजिम दण्ड सजाय दिलाउनुपर्ने सबैले आवाज उठाईरहेका छन् । यस्तो क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनबमोजिम कारबाही हुनेछ । धामी झाँक्रीको बारेमा प्रचारप्रसार गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने समेत माग स्थानियले गर्न थालेका छन् ।
धामीझाँक्रीको नाममा ठगेका विभिन्न घटनाहरु प्रचारमा आएता पनि यस्ता घटनाहरु दोहोरिरहेका छन । शिवशक्ती बाबा नाममा भाईरल भएका झाक्रीको कालोकर्तुत बाहिर आउने क्रम जारी छ । उनी विगतमा विभिन्न अपराधीक घटनामा समेत संम्लग्न रहेका थिए । चोरी निकासी र हत्यामा समेत संम्लग्न उनले केही समय जेलमा समेत बसेका थिए । सफाई पाएपछि एकाएक शिवशक्ति बाबाको नाममा भाइरल भए र अहिले पनि उनी झारफुका गरेरै बसेका छन् ।
आज बिहान मात्र उपचारमा आएका एक जनाको मृत्यु भएको छ । उक्त अखडामा मानिसहरु उपचारमा आउँछन् तर उपचारको नाममा ठगिएर जाने गरेका छन् । उक्त ठाउँबाट ४ जना भन्दा बढीको मृत्यु भईसकेको समेत स्थानीयले बताएका छन् । एउटा बिरामीलाई खाने बस्ने ब्यबस्था गरेर समेत पैसा असुली धन्दा समेत गरिरहेका छन् । स्थानिय बासिले लेटाङ नगरपालिकामा समेत यस ठगी धन्दाको बारेमा उजुरी गरेका छन् । तथापी उनले भगवानको नाम लिएर धन्दा चलाईरहेका छन् । यता, शिवशक्ति बाबाले भने आफु काठमाडौंमा रहेको र एक जनाको बिरामीको मृत्यु भएको जानकारी प्राप्त भएको बताउनुभयो । ‘मेरोमा उपचार गरेर मृत्यु भएको होइन’ उहाँले फोन सम्पर्कमा भन्नुभयो–‘मैले प्यारालाइस्को उपचार गरिरहेको थिए, अन्य बिरामी पनि थिए, अस्पतालमा पनि उपचार भइरहेको थियो ।’ आफुले ठगी धन्दा नचलाएको पनि दाबी गर्नुभएको छ ।